युनिटी एफसी विरेन्द्रबजारद्वारा संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । यूनिटी एफसी विरेन्द्र बजारका अध्यक्ष रोहित मगरको अध्यक्षता तथा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच फुटबल प्रतियोगिता उद्घाटन गरिएको हो ।
खेलाडीहरुसंग परिचय गर्दै प्रमुख अतिथि अध्यक्ष यादव, विशिस्ट अतिथि उपाध्यक्ष लौगीसहित अतिथि गण । फोटो : न्यूज टुडे
रुपनी गाउँपालिका ६ स्थित युनिटी एफसी मिलनचौक खेलमैदानमा आयोजित फुटबल प्रतियोगिताको प्रमुख अतिथि रुपनी गाउँपालिका अध्यक्ष यादवले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरे ।
फुटबल प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष यादवले यूवाहरुले चाहेमा जस्तोसुकै कठिन काम गर्न सक्ने क्षमता राख्छ भन्ने उदाहरण यस प्रतियोगिताबाट सावित भएको बताए । उनले खेलसंगै कुलतमा फसेका युवाहरुलाई लागूऔषध सेवनबाट मुक्त गर्ने अभियान यूवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।
‘सकारात्मक सोच राखेर फुटबल प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिन्छु’ अध्यक्ष यादवले भने, यो युवाहरुले चाहेर नै सम्भव भएको छ, यसको माध्यमबाट धुम्रपान, मध्यपान जस्ता लागूऔषध सेवन गर्ने युवाहरुलाई कुलतबाट मुक्त गर्नु मद्दत पुग्नेछ ।’
यूवा शक्तिकै सक्रियतामा विकास, सुशासन र सामाजिक परिवर्तन सम्भव रहेको बताउँदै अध्यक्ष यादवले समाज सुधारका कार्यमा निरन्तर लाग्न आग्रह गरे । सामाजिक विकृतिको रुपमा फैलिएको लागूऔषध दुर्व्यवसनी संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले यसलाई नियन्त्रण गर्न यूवाहरुको महत्त्वपूर्ण भुमिका रहने बताए ।
उनले फुटबलको माध्यमबाट समाजसुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक रुपान्तरणमा सहयोग पुग्ने कार्यमा सधै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, समाजसेवी विष्णु बहादुर थापा मगर, बम बहादुर राउत,विष्णु स्याङदनलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत युनिटी एफसी विरेन्द्र बजारका सदस्य आरएन मगरले गरे ।
उद्घाटन खेलमा रिभरसाइड एफसी धरमपुर विजयी भएको छ । नव बुद्ध युथ क्लब मझौ सप्तरीलाई ०-२ गोलान्तरले पराजित गर्दै धरमपुरले जित हाँसिल गरेको हो । दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलमा खेलको पहिलो हापको चौथो मिनेटमा रिभरसाइड एफसीका जर्सी नम्बर ७ का राहुल विकले १ गोल गर्दै टिमलाई अगाडि बढाए । खेलको पहिलो हापकै २५ औं मिनेटमा रिभरसाइडकै जर्सी नम्बर ११ का करण सरदारले १ गोल थपे । निर्धारित ६० मीनटको खेलअबधिमा नमो बुद्धको तर्फबाट कुनै गोल फर्काउन नसकेको आयोजक समितिका राम बहादुर गोलेले जानकारी दिए ।
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,महुली एफसी,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा डिहिवार युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १६ टिम सहभागी रहेका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार दुईवटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल श्री बाबा डिहिवार एफसी र शम्भुनाथ एफसी वीच दिनको २ बजेदेखि सुरु हुनेछ भने दोश्रो खेल कंकालिनी एफसी र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराज वीच अपराह्न ४ बजेदेखि हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।