न्यूज टुडे
राजविराज, ११ भदौ ।
उखु किसानहरूले अनुदान कटौती र बक्यौता भुक्तानीका मागसहित काठमाडौंमा गरिरहेको आन्दोलनप्रति जनमत पार्टीले एक्यवद्धता जनाएको छ।पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जयकान्त राउत र प्रवक्ता डा. शरद सिंह यादव बुधबार माइतीघर मण्डलास्थित धर्ना स्थल पुगेर किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
उनीहरूले किसानका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे। हाल सरकारले गत वर्षको प्रतिक्विन्टल ७० रुपैयाँ दिने भनिएको अनुदानलाई घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू असन्तुष्ट बनेका छन्।
सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी लगायत जिल्लाबाट आएका किसानहरु काठमाडौंमा निरन्तर धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
जनमत पार्टीका नेताहरूले किसानको मागलाई देशको कृषि, किसान र ग्रामीण अर्थतन्त्रको हितमा रहेको भन्दै तत्काल समाधान नगरे आन्दोलन अझ व्यापक बन्न सक्ने चेतावनी दिएका छन्।