न्यूज टुडे
राजविराज,१० भदौ ।
पत्रकार तथा साहित्यकार श्यामसुन्दर यादवले राजविराज नगरपालिकाले ठेलामा फलफूल बिक्री गर्नेमाथि गरेको ज्याजतीको विरोध गर्दै सानालाई निसाना बनाउनुभन्दा पनि व्यवस्थापनतर्फ ध्यान पुग्नुपर्नेमा जोड दिएका छन् । चौरचन तथा तीज पर्वका लागि ठेलामा फलफूल बिक्री गरिरहेको अवस्थामा राजविराज नगरपालिकाबाट खटिएका कर्मचारीहरुको टोलीले सोमबार साना व्यवसायीको आधा दर्जन भन्दा बढी ठेला नियन्त्रणमा लिएपछि उनले सामाजिक संजालमार्फत यस्तो धरणा सार्वजनिक गरेका हुन् ।
उनले नगरपालिकाले उठाएको यस्तो गलत गदमको खुलेर विरोध गरेका छन् ।
‘चाडपर्वका बेला व्यवसाय गरेर दुई पैसा आर्जन गर्ने सोचका साथ फलफूल बेच्दै गरेका व्यवसायीहरुको मूल पूँजी नै नियन्त्रणमा लिनु गलत हो’ उनले सामाजिक संजालमा ठेला नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘किनभने त्यही फलफूल बेचेर आएको पैसाले घरमा चुलो बलेको हुन्छ । छोराछोरीको सपना र चाडपर्वमा मीठो खाने राम्रो लाउने लालसाहरु पनि त्यही सानो व्यवसायमै आश्रित रहेको हुन्छ ।’
‘बरु, साना व्यवसायीहरुको व्यवस्थापनतर्फ ध्यान दिँदा राम्रो हुने भन्दै उनले ऊनीहरुको पेट पाल्ने माध्यम भनौं वा श्रीसम्पत्ति त्यही नै हो’ नियन्त्रणमा लिनु अन्यायपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।
उनले राजविराजका मुख्य सडकमा अस्तव्यस्त पार्किङ गरिएको सवारी साधन बसपार्कमा व्यवस्थापन गर्नु नसक्नु नगरपालिकाको ठूलो कमजोरी भएको टिप्पणी गरेका छन् ।
‘डन्डा सानामाथि मात्रै किन ? करोडौं लगानी गरेर निर्माण भई उद्घाटन भइसकेको बसपार्क किन सुचारु हुन सकेन । साना ठेलाहरु भन्दा पनि ठूलाठूला बसहरु पनि सडकमै थन्क्याइएको हुन्छ । के पालिकाले नसकेकै हो त ?।’ प्रश्न गर्दै उनले भने,’राम मन्दिरदेखि उच्च अदालतसम्म मूल सडकमै तरकारी हाट लाग्दैआएको छ । सवारीसाधन त के मान्छेलाई पैदल हिड्न पनि गाह्रो छ । सडकै अवरुद्ध हुने गरी लाग्दैआएको हाट व्यवस्थापन गर्न पालिकाले नसकेकै हो त ? ।’
फलफुल व्यापारी वा फुटपाथ व्यापारी उनीहरूसंग पनि सम्मानजक व्यवहार हुनुपर्ने उनको जोड रहेको छ ।
‘नगरभित्र मुख्य तथा व्यस्त सडकहरुमा जताततै खुल्ला पार्किङ हुँदैआएको छ । के त्यसले दुर्घटना निम्त्याउँदैन ?
‘फलफूल व्यवसायी होस् कि फुटपाथका व्यवसायी ! व्यापार व्यवसायी गर्न पाउने उसको पनि अधिकार छ ।’ आमसंचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष समेत रहेका उनले भनेका छन् ,’उनीहरुसँग पनि सम्मानजनक व्यवहार होस् । सानालाई निसाना बनाउनुभन्दा पनि व्यवस्थापनतर्फ ध्यान जाओस् ।”
राजविराज नगरपालिकाले साना फुटपाथ व्यापारीमथि गरेको दुर्व्यवहार तथा बट्टीको नाममा हुँने मनलाग्दी असुलीको चौतर्फी विरोध हुन थालेको छ ।