न्यूज टुडे
राजविराज, ०९ भदौ ।
जनता समाजवादी पार्टी (जसपा), नेपाल सप्तरीद्वारा राजविराजमा सोमबार सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयक विरुद्ध प्रदर्शन गरेको छ । सरकारले ल्याउन लागेको विधेयक ‘राष्ट्रहितविपरीत’ भएको भन्दै जसपा नेपालले सप्तरीसहित देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
स्थानीय शिव मन्दिरबाट लिकालिएको विरोध र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै नेता चौकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष केदार यादबले “भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको बताए ।
‘
यसले भू–माफिया र जग्गा दलालको मात्रै हित गर्नेछ । यसबाट वनजंगल विनाश हुने र तराई–मधेस क्षेत्र मरुभूमिकरणको जोखिममा पर्नेछ’ उनले भने’ जसपा नेपाल शुरूदेखि नै यस विधेयकको विपक्षमा रहेको छ ।”
उनले भूमि विधेयकको विपक्ष उभिएकोले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवविरुद्ध षड्यन्त्र सुरु भएको भन्दै आपत्ति व्यक्त गरे । पार्टीका अध्यक्ष विरुद्ध राजनीतिक प्रतिशोध लिन सरकार उद्वत रहेको टिप्पणी गर्दै उनले यसबाट सरकार पछि नहटे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कोणसभालाई पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला नेता एवम् विभिन्न भातृसंगठनका पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।
जसपा नेपालको विरोधका बाबजुद, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले २०८२ भाद्र ५ गते विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको थियो ।
यसपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रका जग्गामा हुने अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई–मधेसलाई मरुभूमिकरणबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरणबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने निर्णय गर्दै देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
जसपा नेपाल सप्तरीले पार्टी अध्यक्ष विरुद्ध भएको षड्यन्त्र तथा भूमि सम्बन्धि विधेयक विरुद्ध भदौ ९ गते देखि १५ गतेसम्म विरोधका कार्यक्रम गर्ने निर्णय गरेका थिए ।