न्यूज टुडे
राजविराज,०९ भदौ ।
नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् इन्टेलेक्चुअल फाउण्डेशन नेपालका अध्यक्ष डा. सुर्यप्रसाद यादवले शैक्षिक सुधारको लागि दिन रात प्रयासरत रहेको बताउँदै सहयोगका लागि आग्रह गरेक छन् । सप्तरीको बोदेबर्साईन नगरपालिका स्थायी बसोबास रही २०५७ सालदेखि अस्थायी रुपमा राजविराज नगरपालिका भित्र बसोबास गर्दै आइरहेको उनले सोमबार राजविराज नगरपालिका बसाई सराई दर्ता गरिएको जानकारीसहित सामाजिक संजालमा पोष्ट गर्दै शैक्षिक जागरणमा सहयोगका लागि आग्रह गरेका हुन् ।
‘आजबाट विधिवत रुपमा राजविराज नगरपालिकाको स्थायी बासिन्दा भएको बेहोरा सबै नगरवासीलाई जानकारी गराउन चाहन्छु ।’ उनले सामाजिक संजालमा लेखेका छन्,’साथै म सबै नगरवासीलाई विनम्रता पूर्वक आग्रह गर्न चाहन्छु कि तपाईहरुको आर्शिवाद र साथ रहे यो क्षेत्रलाई म शिक्षाको ‘हब’ बनाउछु ताकि कुनै पनि गरिब’ दलित र विपन्नका छोराछोरीहरु शिक्षाबाट वञ्चित हुनु पर्दैन ।’
उनले आफुले चालेको शैक्षिक सुधार अभियानमा जनप्रतिनिधि, उच्च अहोदाका कर्मचारी, शैक्षिक तथा सामाजिक अभियानता तथा बौद्धिक व्यक्तित्वको साथसहयोग पाईरहेको भन्दै खुशी व्यक्त गरेका छन् ।
‘विद्यार्थीहरुलाई पनि राम्रो शिक्षा पाउनको लागि राजबिराज छोडेर अन्यत्र जाने अवस्थाको अन्त्य हुन्छ।’ उनले सामाजिक संजाल गरिको पोष्टमा उल्लेख गरेका छन्, ‘हुन त अहिले पनि म यहाँको शैक्षिक सुधारको लागि दिन रात प्रयासरत छु । जसमा मसँगै पढेका केही मित्रहरूको साथै बौद्धिक व्यक्तित्वहरु र वर्तमान अवस्थामा नगरपलिकाका शिक्षा अधिकृत र स्वयं राजविराज नगरपालिकाका कार्यबाहक मेयरले खुलेर साथ दिइरहनुभएको छ, ‘उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु ।’
उनले राजविराज नगरपालिका ७ को स्थायी बासिन्दा भएको जानकारी गराउँदै नगर क्षेत्रको समग्र विकास र शैक्षिक सुधारको कार्यमा अनवरत रुपमा लागि रहने विश्वास समेत दिलाएका छन् ।
‘यसैगरी क्रमश: राजविराजको सर्वाङ्गिन विकासको लागि पनि म अवश्य लाग्ने नै छु भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु।’ डा. यादवले सामाजिक संजालमा पोष्ट गर्दै भनेका छन् ।