न्यूज टुडे
राजविराज,०८ भदौ ।
जनमत पार्टी निकट प्रेस जनमत संघले आइतबार नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने क्रममा भेदभाव गरेको भन्दै तत्काल सच्याउन माग गर्दै प्रेस जनमत संघले महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा सदस्यतामा देखिएको विभेद तत्काल अन्त्य गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष अवधेश कुमार झाले महासंघ केन्द्रीय समिति अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाउँदै आस्थाका आधारमा सदस्यता दिने वा रोक्ने प्रवृत्ति महासंघको साझा चरित्रविपरीत भएको बताए ।
नेतृत्वसँग आस्था राख्नेहरूको सदस्यता सहज रूपमा नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारको सदस्यता खारेज वा अस्वीकृत गर्ने प्रवृत्ति देखिएको भन्दै ज्ञापनपत्रमा आपत्ति जनाइएको छ।
ज्ञापनपत्रमा भनिएको छ“सदस्यताको शुद्धिकरण आवश्यक भएपनि त्यसलाई आधार बनाएर फरक संगठनकाे आधारमा व्यक्तिगत रिसइवी साध्ने वा काठमाण्डौ र तराई–मधेशमा फरक–फरक मापदण्ड लागू गर्नु अन्यायपूर्ण हो,”
गत निर्वाचनताका शुद्धिकरणका नाममा भएको अन्यायलाई तत्काल सच्याउन माग गर्दै संघले महासंघलाई साँच्चिकै सबै पत्रकारहरूको साझा संगठनका रूपमा कायम राख्न आग्रह समेत प्रेस जनमत संघद्वारा बुझाएको ज्ञापनपत्र उल्लेख छ।
संघले महासंघबाट प्रदान हुने अवसरमा सबै पत्रकारहरूले समान अधिकार र अपनत्वको अनुभव गर्न सक्ने वातावरण निर्माण गर्न नेतृत्वलाई आग्रह समेत ज्ञापनपत्रमा गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार महासंघको तर्फबाट अध्यक्ष शर्मासहित उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहालसहितका पदाधिकारी र प्रेस जनमत संघको तर्फबाट अध्यक्ष झासहित सह-अध्यक्ष आरएन विश्वास, केन्द्रीय सदस्य जितेन्द्र खड्गासहितका पत्रकारहरुकाे उपस्थिति थियो।