उत्तम आचार्य
कञ्चनरुप, ०८ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिकालाई कम्प्यूटर सिकाउन शुरू गरिएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पस तथा एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा कम्प्युटर तालिम दिइएको हो।
आइतबारदेखि सुरु भएको ‘सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ’ अभियान अन्तर्गत् सप्तरीको कञ्चनरूप नगरपालिका अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालयका बालबालिकाहरुलाई कम्प्यूटर तालिम सिकाउन थालिएको आयोजकले जनाएको छ ।
भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुरमा कम्प्यूटर तालिमको नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतित्थमा शुरू गरिएको थियो भने राष्ट्रिय प्राथमिक विद्यालय, पिपरामा आयोजित बालबालिकालाई कम्प्यूटर तालिम कार्यक्रम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसैगरी, वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुरमा सो तालिमको शुरूवात कञ्चनरूप नगरपालिका १२ नम्बर वडाका अध्यक्ष देवी वहादुर खत्रीको प्रमुख आतित्थमा भएको थियो।
गुणस्तरमा अत्यन्तै पछि परेका सामुदायिक भनिने सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सानै उमेरदेखि कम्प्यूटरको शीप सिकाउनु पर्छ भनेर यो अभियान आरम्भ गरिएको रूपान्तर नन्दराज क्याम्पसले जनाएको छ ।
तालिमका लागि कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ।
‘गरीबका बच्चाहरू मात्र पढ्ने’ पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवत: नेपालमै पहिलो भएको आयोजकको दावी छ ।
केही दिन अघि तीन वटा विद्यालयमा प्रत्येकलाई दुई वटाका दरले हस्तान्तरण गरिएको कम्प्यूटरमा यी विद्यालयका बालिबालिका सिक्न थालेका छन् ।
अभियान अन्तर्गत् छनौट गरिएका सरकारी प्राथमिक विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई समेत आधारभूत कम्प्यूटर तालिम चलिरहेको रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिए ।
एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्यालका अनुसार रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १४ जना शिक्षक/शिक्षिकालाई दुई महिने आधारभूत कम्प्यूटर तालिम निशुल्क दिइराखेको छ। ‘प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज संग्रौला क्याम्पसको कम्प्यूटर प्रयोगशालामा एक महिनादेखि चल्दैछ’ प्राध्यापक गजुरेलले भने ।
अहिले हामीले थालेको यो अभियानमा राम्रो प्रगति भयो भने आगामी दिनमा यसलाई अझ विस्तार गर्न सकिने दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताए ।
एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन गरिने यो नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गर्ने जनाएको छ। यसका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको युवा अभियानकर्ता मनिष कोइरालाले जानकारी दिए ।