• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सबै जातजातिको धर्म संस्कृतिको संरक्षण गणतन्त्रले गरेको छ : पूर्वमन्त्री यादव

सबै जातजातिको धर्म संस्कृतिको संरक्षण गणतन्त्रले गरेको छ : पूर्वमन्त्री यादव
शिवनारायण साह ( सुरज ) 
राजविराज, ०७ भदौ ।
माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले सबै जातजातिको धर्म संस्कृतिको संरक्षण तथा विकास संघीय लोकतान्त्रिक गणतन्त्रले गरेको बताएका छन् । गणिनाथ गोविन्द सेवा समिति राजविराजद्वारा थानगाछी डिहिवार मन्दिर प्राङ्गणमा शनिबार आयोजित बाबा गणिनाथ महोत्सव २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
सम्मान ग्रहण गर्दै पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले गणतन्त्रमा सबै आस्था धर्म संस्कृतिको सम्मान, प्रवर्द्धन तथा विकासले गति लिने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा अन्य शासन व्यवस्था भन्दा अत्याधिक मन्दिर निर्माण भएको उल्लेख गर्दै विरोधीहरुले गणतन्त्र हिन्दु विरोधी  शासन व्यवस्था भएको भाष्य निर्माण गरि बदाम गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
महोत्सवमा सहभागी भक्तजनहरु । फोटो : न्यूज टुडे
‘धार्मिक आस्थामाथि पक्षपात हुनु हुँदैन, सबैलाई समान रुपमा लिनुपर्छ’ पूर्वमन्त्री यादवले भने, केही विकास विरोधीहरुले गणतन्त्रको बदनाम गरि राजनीतिक दाउपेज खोज्दैछन्, यसमा परिबर्तनकारी शक्ति सचेत हुनुको विकल्प छैन। ‘ 
उनले गोविन्द गणिनाथ बाबा समाज परिवर्तनको एक क्रान्तिकारी दुरगामी सोचको व्यक्तित्व भएको बताउँदै  सामाजिक न्यायका लागि गरेको संघर्ष र उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे । 
‘रुढीबादी, अविश्वास अमानवीय कार्यलाई निरुत्साहित गर्न गोविन्द गणिनाथ बाबाले कठोर संघर्ष गरेको इतिहास साक्षी छ’ उनले भने,’ अरुलाई दुखकष्टबाट मुक्त गर्नु धर्म हो,जो क्रान्ति गरि गतिशील र विज्ञान पक्षमा रहन्छ सधै अग्रसर रहिरहन्छ, त्यतिबेला पनि गोविन्द गणिनाथ बाबाले बैज्ञानिक सामाजिक रुपान्तरणका कार्य गरेका थिए ।” 
झुठामुठा पाखण्डाहरुका कारण यस्ता महापुरुषल्हरुको अभाव खड्किन थाल्ने भन्दै पूर्वमन्त्री यादवले नकारात्मक मात्र सोच राख्ने समाजमा मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान र स्मरण गरेर समितिले सकारात्मक कार्यको थालनी गरेको बताए । 
धर्मलाई कुनैजात संग जोड्नु गलत भएको बताउंदै  उनले कुनै कुलमा जन्म भएको आधारमा उसैको मात्र हो भनी संकोचित सोच राख्नु नहुने जिकिर गरे । 
हलुवाई समाजका केन्द्रीय संस्थापक अध्यक्ष शिव नारायण साहले सबैको साथ सद्भाव र  अविस्मरणीय सहयोगले आजको दिन सम्म आइपुग्दा खुशी लागेको बताए । मान्छेको रुपमा जन्म लिएर अन्याय विरुद्ध लडेका बाबा गणिनाथको मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तिहरुको नाम उल्लेख गर्दै उनले मन्दिर निर्माणमा योगदान गर्ने व्यक्तिहरुको  नाम नलिदा बइमानी हुने भएकोले उच्च सम्मानका साथ स्मरण गरिएको बताए । 
बाबा गणिनाथ गोविन्द सेवा समिति राजविराज ६ का अध्यक्ष अनिल झाको अध्यक्षता तथा छिन्ननस्ता भगवती मन्दिरका पिठाधीश माहाकान्त ठाकुरको प्रमुख आतिथ्यमा आयोजित बाबा गोविन्द गणिनाथ महोत्सवमा मन्दिर निर्माणमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै पूर्वमन्त्री यादव, जसपा नेपालका प्रबक्ता एवम् मधेस प्रदेश सभा सदस्य मनिष सुमन,  पूर्व साँसद सकलदेव सुतिहार, हलुवाई समाजका केन्द्रीय अध्यक्ष शत्रुधन साह, पिठाधीश ठाकुर, वडा अध्यक्ष शशी चौधरीसहितका ३ दर्जनभन्दा बढीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
हलवाई समाजका संस्थापक महासचिव एवम् आयोजक समितिका सदस्य महेश प्रसाद साहद्वारा संचालित कार्यक्रममा स्वागत समाजकी केन्द्रीय सदस्य महिला नेत्री रमिला देवी साहले गरिन । 
गोविन्द गणिनाथ बाबालाई हलुवाई सहित विभिन्न जातजातिले कुल देवताको रुपमा पुज्ने गर्छन् ।