न्यूज टुडे
राजविराज,०५ भदौ ।
राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का संचालक एवम् सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालू प्रसाद अग्रवालले आयल मिलका मेनेजर पदमा कार्यरत सप्तरीको खडक नगरपालिका वडा नम्बर ७ का ५८ बर्षिय उपेन्द्र भगतको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । राजविराजमा बिहीवार पत्रकारहरुसंग कुराकानी गर्दै उनले रौतहटको गौरमा सोमबार मृत फेला परेका भगतको मृत्युको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका हुन् ।
उनले आफ्ना परिवारको सदस्यभन्दा नजिक रहेर लामो समयसम्म मिलको म्यानेजरको रुपमा कार्यरत भगतको मृत्युको खबरले आफूलाई अत्यन्तै मर्माहत तुल्याएको बताए । भगतको निधनप्रति गहिरो दुख व्यक्त गर्दै उधोग बाणिज्य संघका अध्यक्ष समेत रहेका अग्रवालले मृत्युको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायसंग आग्रह गरे ।
परिवारको सदस्यभन्दा धेरै विश्वास गरिएको म्यानेजर भगत बेपत्ता भएदेखि नै आफू चिन्तित भएको बताउँदै उनले आकस्मिक मृत्युको खबरले थप पीडा थपिएको दुखेको सुनाए ।
‘म्यानेजर भगतको मृत आत्माको चिरशान्तिको कामना गर्दछु’ अग्रवालले भने,’ शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु, अप्रत्याशित घटनाले अत्यन्तै दुखी तुल्याएको छ, घटनाको निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसंग अनुरोध छ।’
यसअघि श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का संचालक एवम् सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष अग्रवालले म्यानेजर भगत सम्पर्क बिहीन रहेको जानकारी गराउँदै तत्कालै प्रेस विज्ञप्ति जारी गरि खोजीमा सहयोगका लागि स्थानीय प्रहरी प्रशासनसहित सबैलाई आग्रह गरेका थिए ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षिय भगत मृत फेला परेका थिए । मेनेजर पदमा कार्यरत उनी चिया खाएर आउँछु भनि कम्पनीबाट गत असार २५ मा निस्केका थिए ।
त्यसपछि परिवारजनले गत असार २६ मा भगतको हुलिया विवरण सहित प्रहरीमा खोज तलाशका लागि निवेदन दिएका थिए । पाँचसाता अघि देखि बेपत्ता रहँदै आएका मृतक भगत गत साउन २९ गते नेपाल लजमा आएका थिए ।
सम्पर्क बिहिन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य जारी राखिएको अवस्थामा रौतहट प्रहरीबाट मृत फेला परेको जानकारी आएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतकको शवमा बाहिरी चोटपटक केही नदेखिए पनि मृत्यु शंकास्पद रहेको भगत परिवारको भनाइ छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।