विटौरी तथा ब्लक जगा राजविराज नगरबासी पीडित संघर्ष समितिद्वारा विभिन्न ७ बुँदे माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिद्वारा राजविराज स्थित गजेन्द्र चौकमा बिहिवार पत्रकार सम्मेलन आयोजना गर्दै ११ दिने चरणबद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जसपा नेपालका नेता एवम् मधेस प्रदेश साँसद अनिरुद्व कुमार सिंह यादव । फोटो : न्यूज टुडे
राजविराज नगरबासी पीडित संघर्ष समितिका संयोजक इरसाद अन्सारीको अध्यक्षमा आयोजित पत्रकार सम्मेलनमा भदौ ५ गते देखि १६ गतेसम्म राजविराज बन्द गर्नेसहितको चरणणबद्व आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
पत्रकार सम्मेलनमा संयोजक अन्सारीले २०८२ भदौ ५ गते पत्रकार सम्मेलन, ७ गते लाठी जूलूस र खबरदारी सभा, ९ गते सिटी जूलूस, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना, १४ गते मसाल जुलुस प्रदर्शन, १५ गते राजविराज बजार बन्द तथा राजविराज नगरपालिकामा तालाबन्दी र १६ गते संघर्ष समिति तथा
नगरबासीको बृहत बैठक बसी आन्दोलनको समिक्षा र पाँचौ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् राजविराज नगरपालिकाका पूर्व मेयर अनिश अन्सारी । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा ७ बुँदे माग समेत सार्वजनिक गरिएको छ ।
राजविराज नगरपालिकाको विटौरी र ब्लक जग्गाको लालपुर्जाबाट बन्चित रहेका ५ हजार बढी परिवारलाई अविलम्ब जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नुपर्ने, राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्पेलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण गर्नुपर्ने, खाडो नदि तटबन्ध क्षेत्रका जग्गाको नापी अविलम्ब गर्नुपर्ने, राजविराज-कंचनपुर सडकखण्डको निर्माण कार्यमा देखिएका समस्या समाधान गर्नुपर्ने,सीमानाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागि नगर क्षेत्रमा अविलम्ब औषधि छर्कने व्यवस्था गर्नुपर्ने र सप्तरीको सिमानाका क्षेत्रमा बर्षोदेखी बन्द रहेको छोटी भन्सार कार्यालयहरु अविलम्ब संचालन गर्नुपर्ने माग संघर्ष समितिले अघि सारेको छ ।
पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम घोषणा गर्दै संयोजक अन्सारीले यो अन्तिम र निर्णायक संघर्षका कार्यक्रम रहेकोले आन्दोलनका कार्यक्रममा सक्रिय सहभागी जनाउन ब्लक तथा विटौरी जगाधनीहरुलाई आग्रह गरे । राजविराज नगरपालिका र नापी कार्यालयले माग सम्बोधन गर्न बाहनाबाजी तथा वेवास्त गर्दै आएकोले बाध्य भएर चौथो चरणको आन्दोलनमा जानू परेको संघर्ष समितिका संयोजक अन्सारीले बताए ।
यसैगरी जसपा नेपालका नेता एवम् मधेस प्रदेश साँसद अनिरुद्व प्रसाद सिंह यादवले केन्द्रकृत नश्लवादी चिन्तनका कारण राजविराजबसी आफ्नै जग्गाको लालपुर्जा पाउनबाट बन्चित भएको बताए । एकात्मक शासकीय सोचले मधेसीलाई गुलाम बनाएर राखेको तथा लालपुर्जा बाट बन्चित गराउनु त्यसैको उपज रहेको उल्लेख गर्दै उनले मधेसीमाथि हुने भेदभाव र विभेद विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए ।
विटौरी तथा ब्लक जग्गाधनीले बिनासर्त लालपुर्जा पाउनु पर्नेमा जोड दिदै उनले आन्दोलनका कार्यक्रममा सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वमन्त्री एवम् राजविराज नगरपालिकाका पूर्वमेयर अनिश अन्सारीले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य नगरेको भन्दै आक्रोश पोखे । राणा शासनमा बसेको राजविराज नगरपालिकामा गणतन्त्रका शासकहरुले जग्गाधनी लालपुर्जा वितरणका रोक लगाउनु व्यवस्थामाथिकै प्रहार भएको टिप्पणी गर्दै उनले यसको विरुद्ध आवाज उठाउन नसक्ने जनप्रतिनिधि चुनिनु राजविराज नगरबासीको लागि दुर्भाग्य भएको बताए ।
प्रतिनिधिसभामा डा. सिके राउत र प्रदेशसभामा महेश प्रसाद यादवलाई जिताउनु नगरबासीको ठूलो भुल भएको भन्दै पूर्वमन्त्री अन्सारीले उनीहरुको नामै किटेर यस्ता जनप्रतिनिधिहरुलाई सामाजिक बहिष्कार गरि राजविराज नगरपालिका प्रवेश निशेध गर्नुपर्नेमा जोड दिए ।
हिंसात्मक आन्दोलन विना अहिलेसम्म नागरिकले अधिकार नपाएकोले दुइचारवटा बसमा आगजनी नगरी सुनुवाइ नहुने जिकिर गर्दै उनले संघर्ष समितिले उठाएको माग न्यायोचित भएकोले संघर्षको अगुवाइ गर्न र मर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
राजविराज नगरपालिकाका पूर्व मेयर जगरनाथ दासले विटौरी तथा ब्लक जग्गाको लालपुर्जा जग्गाधनीलाई प्रदान गर्न स्थानीय सरकारले अग्रता देखानु पर्नेमा जोड दिए । राजविराज नगरपालिका नगरबासीको हो भन्दै उनले समस्या समाधानमा राजविराज नगरपालिकाले निर्णय लिनुपर्ने सुझाव दिए ।
जननिर्वाचित मेयर नहुनु र कार्यबाहक मेयर गैरराजनीतिक व्यक्ति भएकोले जनअपेक्षित निर्णय लिन नसक्दा राजविराज नगरबासी थप समस्यामा परेको उनले बताए । पूर्व मेयर दासले गैरराजनीतिक व्यक्तिलाई टिकट दिएर जिम्मेवारीमा ल्याउने राजनीतिक दल कस्ता? भन्दै प्रशन गरे ।
संघर्ष समितिका सदस्य दिपेन्द्र चौधरीले हकभोगको आधारमा जग्गाधनी पुर्जा वितरण गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारलाई ठगीधन्दा बन्द गर्न आग्रह गर्दै उनले अझै राजविराज नगरबासीमाथि गैर नागरिकको व्यवहार कायम राखे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
कार्यक्रम संचालन संघर्ष समितिका सदस्य अनिल देवले गरेका थिए ।
पत्रकार सम्मेलनमा सप्तरी उधोग वाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, विभिन्न राजनीतिक दलका प्रतिनिधि र नगरबासीहरुको समेत उपस्थिति रहेको थियो ।