जनता समाजवादी पार्टी नेपालका १८ जनाबढी नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौर हत्याकाण्डको विषयलाई लिएर जसपा नेपालले काठमाडौमा मंगलबार निकालेको मसाल जुलुसलाई हस्तक्षेप गर्दै बबरमहलबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा रहेका जसपा नेपालका नेता मनिष सुमन, दिनेश कुमार यादवसहितका नेतागण । फोटो : न्यूज टुडे
पक्राउ पर्नेमा जसपा नेपालका प्रबक्ता एवम् मधेस प्रदेश सांसद मनिष सुमन, किरण साह, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले सहित १८ जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जसपा नेपालले जनाएको छ ।
यसैगरी पूर्व मधेस प्रदेश सांसद विदेश्वर प्रसाद यादव (विक्की) ,पूर्व सांसद शशि कपुर मिया, मधेस प्रदेशका कार्यकारिणी सदस्य दिनेश कुमार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादव, समाजवादी महिला सङ्घकी केन्द्रीय अध्यक्ष निर्मला यादव,समाजवादी युवा सङ्गठनका महासचिव दिलिप पटेल,उपमहासचिव रेनु राज सिंह,सचिव मनिष यादव पार्टी केन्द्रीय सदस्य डा. बबी सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जसपा नेपाका नेता दिनेश कुमार यादवले जानकारी दिए ।
धरपकडको क्रममा मधेस प्रदेशका कार्यकारिणी सदस्य दिनेश कुमार यादवसहितका नेताहरु घाइते भएको जसपा नेपालले जनाएको छ । उनीहरुलाई प्रहरी बृत सिंगादरबारमा राखिएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चावीच भएको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो ।
सो घटनामा पीडितले प्रहरी अनुसन्धान अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको हो । यससँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अनुसन्धानमा तानिने भएका छन् ।
यद्यपि उनले आफू अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।