• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सर्वोच्चको परमादेश फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

सर्वोच्चको परमादेश फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी
न्यूज टुडे
राजविराज, ०३ भदौ । 
जनता समाजवादी पार्टी नेपाल सप्तरीले गौर घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले जारी गरेको परमादेश फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।  जसपा नेपाल सप्तरीद्वारा परमादेश विरुद्ध  राजविराजमा मंगलबार आयोजित  विरोध प्रदर्शन तथा कोणसभालाई सम्बोधन गर्दै जसपा नेताकार्यकर्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालकी केन्द्रीय सदस्य साह । फोटो : न्यूज टुडे
जसपा  नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा स्थानीय शिवमन्दिरबाट निकालिएको र्‍याली नगर परिक्रमा गर्दै दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
विरोधसभालाई सम्बोधन गर्दै प्रदेश लेखा समिति संयोजक अमृत साफी । फोटो : न्यूज टुडे
कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले सरकारले राजनीतिक प्रतिशोधका लागि गौर प्रकरणलाई पुनः जीवित तुल्याएको आरोप लगाउदै परमादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । 
भूमि सम्बन्धी विधेयकमा जसपाले समर्थन नगरेको निहुँमा अध्यक्ष यादवलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै बक्ताहरुले “मधेशलाई मरुभूमि बनाउने विधेयक स्वीकार्य नहुने” उद्घोष गरे ।
बक्ताहरुले त्यसैको आडमा राजनीतिक प्रतिशोध लिइने प्रयास गरिएको भन्दै पार्टीको तल्लो तहसम्म सशक्त आन्दोलनको घोषणा समेत गरे । 
विरोधसभामा सहभागी जसपा नेपालका विभिन्न तहका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले चौथो मधेस विद्रोह सुरु भएको भन्दै गाउँपालिका, नगरपालिका समिति र भातृसंगठनहरुलाई आन्दोलन तयारीमा जुट्न आग्रह गरे । 
कोणसभालाई जसपा नेपालीकी केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला देवी साह, मधेस प्रदेश लेखा समिति संयोजक अमृत साफी, प्रदेश समिति सदस्य कौशेन्द्र यादव, जिल्ला सचिब निरज मुक्ति,कोषाध्यक्ष अर्मेन्द्र कुमार यादव ( अर्विन्द), समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश उपाध्यक्ष तारकेश्वर यादव लगायतले सम्बोधन गरे । 
कार्यक्रम संचालन जिल्ला वरिष्ठ उपाध्यक्ष लक्ष्मण यादवले गरेका थिए । 
सर्वोच्च अदालतको न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर घटनामा अध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो ।
आदेश सार्वजनिक भएपछि जसपा कार्यकर्ता देशभर प्रदर्शनमा उत्रिएका छन् ।