न्यूज टुडे
रराजविराज , २ भदौ ।
रौतहटमा चलिरहेको अंशबण्डा मुद्दा अब सामान्य कानुनी विवाद मात्र रहेन, यसले ठूलो नाटकको रुप लिएको छ। चन्द्रपुरकी रोशनी कुमारी साहले अदालतमा पेश गरेका कागजात झुटो ठहरिएपछि उनी आफैं कानुनी फन्दामा फस्ने स्थिति बनेको छ।
सार्वजनिक रूपमा आँसु बगाउँदै आफू पीडित भएको दाबी गर्ने रोशनीले अदालतसमक्ष भने अर्कै कथा बुनेकी थिइन्। तर मालपोत अभिलेखले उनको दाबी तत्कालै ध्वस्त पारिदियो। अभिलेखअनुसार उनले ३७०२ कित्ता नम्बरको ८–८ धुर जग्गा २०७६ असोज ८ गते गणेश पौडेलबाट रु. ५ लाख १० हजारमा खरिद गरेकी हुन्। तर अदालतमा उनले दिदी ललिता कुमारी रौनियारसँग रु. १९ लाख ऋण लिएर खरिद गरेको कथा बुनेकी थिइन्।
यस फरक विवरणले रोशनीको चालबाजी उजागर भयो। श्रीमान मिश्रीलाल साह, जो शाखा अधिकृतका पदमा कार्यरत छन्,ले खुलासा गर्दै भने,
“मैले आफ्ना सन्तानको भविष्य सोचेर श्रीमतीको नाममा जग्गा दर्ता गरिदिएको थिएँ। तर अहिले उनी दिदी–भिनाजु मिलेर त्यसलाई हडप्ने षड्यन्त्रमा लागेपछि बाध्य भएर मुद्दा हाल्नुपर्यो।”
साहले रोशनीले प्रस्तुत गरेको १९ लाख ऋणपर्ची असम्भव रहेको बताए। उनका अनुसार प्रहरीमा कार्यरत भिनाजु सामान्य तलब खाने कर्मचारी भएकाले त्यस्तो ठूलो रकम सापटी दिन सक्दैनन्। “यदि रकम साँचै दिए भने स्रोत गैरकानुनी छ, नभए सीधै अदालतमा झुट बोलेकी हुन्,” उनले गम्भीर प्रश्न उठाए।
यता, रोशनी आफैं पनि कहिले श्रीमानकै पैसाले, कहिले आफ्नै मेहनतमा जग्गा किनेको भन्दै सार्वजनिक रूपमा विरोधाभासी बयान दिइरहेकी छन्। सामाजिक सञ्जालमा उनका फरक–फरक भनाइहरू देखिँदा उनको विश्वसनीयता झन् खस्किएको छ।