उत्तम आचार्य
कन्चनरुप , ०१ भदौ ।
नेपाल पुर्व प्रहरी संगठन कन्चनरुप नगर कार्य समिति सप्तरीले ३५ औं पुर्व प्रहरी दिवस भब्यतासाथको मनाएको छ । पुर्व प्रहरी संगठन नगर कार्य समितिका अध्यक्ष पुर्व प्रहरी नायब निरीक्षक जितबहादुर श्रेष्ठको अध्यक्षता तथा कन्चनरुप नगरपालिकाकी उप प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच प्रहरी दिवस मनाइएको हो ।
कञ्चनरुप नगरपालिका – १२ नम्बर वडा कार्यालय रुपनगरको सभा हलमा आयोजित ३५ औं स्थापना दिवसको प्रमुख अतिथि उप प्रमुख पोखरेल र विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रम बोल्दै उप प्रमुख पोखरेलले सेवा नै धर्म हो भने झै पुर्व प्रहरी संगठनमा लाग्नु भएका सबैले संगठनको हितका साथै समाजको हितमा काम गरेर इतिहास रच्नु पर्ने बताइन् । पुर्व प्रहरी संगठनको भवन निर्माण र तालिमका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन ।
ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले सबैको साथ सहयोगले गर्दा शान्ति सुरक्षा , अपराध नियन्त्रण र जनताका सामान्य समस्यालाई आफुले सहज तरिकाले सुविधा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै अझ प्रहरी संगठनलाई मजबुत बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए । प्रहरी सेवाबाट अवकाश प्राप्त भएपछि पुर्व प्रहरीहरुको हकहित र संरक्षण गर्नका लागि पुर्व प्रहरी संगठनको स्थापना भएको बताए
कञ्चनरुप नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष देविबहादुर खत्रीले पुर्व प्रहरी संगठन नगर कार्य समितिका पदाधिकारीहरुले पुर्व प्रहरी संगठनमा आवद्ध साथिहरुको सेवा सुविधा प्रदान गर्न कटिबद्ध भएर लाग्नु पर्ने र त्यसका साथै बिकास निर्माणका काममा समेत अगुवाई गर्नु पर्ने बताए । पुर्व प्रहरी संगठनको हकहितका लागी आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत जाहेर गरे ।
कार्यक्रममा पूर्व प्रहरी अमर श्रेष्ठले स्वागत गरेका थिए ।