नर्मदेव यादव
सप्तरीको रुपनी गाउँपालिका – ५ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय बसविट्टीलाई २५ थान पंखा प्रदान गरिएको छ । रुपनी गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रमको वीच आइतबार विद्यालयलाई पंखा हस्तांतरण गरेको हो।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम यादव मार्फत विद्यालयलाई पंखा प्रदान गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बिद्यार्थीहरुको सुविधाका लागि पंखा सहयोग गरिएको बताए ।
‘गाउँपालिका अन्तर्गतका हरेक विद्यालयका लागि सहयोग निरन्तर गरि रहन्छ,तर पढाइमा प्रगति हुनुपर्छ। रिजल्ट परिणाम मुखी हुनुपर्छ।’ उनले भने, ‘बिद्यार्थीहरुले पराग खैनी बिडि चुरोटलगायतका कुलतबाट टाढा बस्नुपर्छ ।’
उनले विद्यार्थीहरुलाई ख्याल राखी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दिए ।
वडा नम्बर ५ का अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका योजना प्रमुख रघुनन्दन यादव, अभिभावक शिवनारायण यादव,महेन्द्र प्रसाद यादव, श्री कन्छु नरप्रताप मावि नकटी रायपुर स्कुल बि.ब्य. समितिका सदस्य दिलिप यादव, पत्रकार नर्मदेव यादव लगायतको उपस्थिति थियो ।
कार्यक्रम संचालन प्रधानाध्यापक श्याम प्रसाद यादवले गरेका थिए ।
मावि बसविट्टीमा ६ सय ३३ जना विद्यार्थी छन् जसमा छात्र ३ सय १२ र छात्रा ३ सय २१ रहेका छन् ।