शिवप्रसाद आचार्य
फत्तेपुर, ०१ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका -५ स्थित पिपरामा शनिबार राति करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
गएराति करिब ८ बजे खेतमा काम सकेर घर फर्किने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरभन्दा करिब १ सय ५० मिटर पूर्वतर्फ रहेको आफ्नै खेतमा काम गरेर फर्कंदै गर्दा नजिकैको महेन्द्र सरदारको खेतमा धानबालीमा हात्ती नआओस् भनी तानिएको जिआइ तारमा छुदा सरदार दम्पतीको मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
स्थानीय मुचुल्कासहितको कानूनी प्रक्रिया पूरा गरि मृतक दम्पतीको शव परिक्षणका लागि राजविराज पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
यसैगरी कञ्चनरुप नगरपालिका ६ मा शनिबार ७ :३० बजे खेल्ने क्रममा एक बालिका घरको छ्तबाट लडेर गम्भीर घाइते भएकी छिन् । स्थानीय मो. इलिहासकी छोरी बर्ष ६ की जिया खातुन घाइते भएकी छिन् ।
घरबाट १० मीटर पश्चिम रहेको पानी ट्यांकीमा चढी खेल्ने क्रममा लडेर घाइते बालिकाको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते बालिकाको अवस्था गम्भीर रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।