• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार यादवमाथि भएको आक्रमणप्रति जसपा नेपाल प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

पत्रकार यादवमाथि भएको आक्रमणप्रति जसपा नेपाल प्रदेश समितिको गम्भीर ध्यानाकर्षण
न्यूज टुडे
राजविराज,३१ साउन ।
जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश अध्यक्ष बालकिशोर यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादवमाथि भएको साँघतिक आक्रमणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जसपा नेपाल प्रदेश समितिद्वारा जारी  विज्ञप्तिमा सदरमुकाम राजविराजमा दिनदहाडै पत्रकार यादवमाथि भएको आक्रमणको घटनाप्रति निन्दा व्यक्त गर्दै घोर भर्त्सना गरेको छ । 
पत्रकार तथा सर्वसाधारणको समेत सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्दै प्रेस विज्ञप्तिमा घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न  स्थानीय प्रशासनसंग जोडदार माग गरिएको छ ।
पत्रकार यादवमाथि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणि गेट अगाडि शुक्रबार १० :४२ बजे तीन जनाको समूहले चक्कु, बेल्ट, हेलमेटले प्रहार गरेका थिए ।
टाउको तथा शरिरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
 अस्पताल गेट अगाडि सहकर्मीसंग कुरा गरिरहेको  बेला छिन्नमस्ता गाउँपालिका–१ विरपुरका कृष्णनाथ यादव (क्याप्टेन),  राजविराज–११ राजु यादव र विष्णुपुर गाउँपालिका–७का राजबाबु झाले एक्कासी आक्रमण गरेको पत्रकार यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसी जितेन्द्र बस्नेतले पत्रकार यादवमाथि आक्रमण गर्ने मध्ये १ जना पक्राउ परेको बताए ।  राजविराज ११ का ३२ बर्षिय राजु यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको तथा अन्यको खोजी भइरहेको उनले बताए।