न्यूज टुडे
राजविराज, २९ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले बिहिवार भेटघाट गरेका छन्।भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त रायले मुख्यमन्त्री सिंहलाई भेटेका हुन् ।
भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छ। टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्ने भेटका क्रममा कुराकानी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झाले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।