न्यूज टुडे
राजविराज, २८ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशको विकास र सुशासनका लागि संविधानमा भएको त्रुटि सच्याउन जरुरी रहेको बताएका छन् । सप्तरीको राजविराजमा बुधबार पार्टीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचन मण्डल सदस्य एवम् पार्टीकी केन्द्रीय सदस्य रमिलादेवी साहको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान संविधानले देश विकास र मुलकमा सुशासन कायम गर्न नसक्ने दावी गरे । उनले विरोधका वीच जारी भएको संविधान बहुसंख्यक जाति समुदायको भावना विपरीत रहेको जिकिर गरे ।
‘सिमित जातिलाई उच्च प्राथमिकतामा राखी लाखौं जनताको भावना विपरीत जबर्जस्ती संविधान घोषणा भयो,’ यादवले भने,’ आज १० बर्ष भयो, अझै संविधानले पूर्णता पाउन सकेको छैन, जबर्जस्ती लादिएकोले सबैको संविधान बन्न सकेन । संविधानमा भएको त्रुटीलाई सच्याउन संशोधनअति जरुरी छ ।’
सबैको संविधान, सम्मान अधिकार ,पहिचान भागेदारी झाझेदारी र प्रतिनिधित्व गाराउने पक्षमा पार्टीले अडान राख्दा समेत एकल जातीय र नश्लीय संविधान घोषणा गरेको उनको भनाइ थियो ।
यो देश एउटा जातको मात्र होइन भन्दै उनले नश्लीय चिन्तन बोकेको संविधान संशोधन गरि सर्व स्वीकार्य बनाउनु पर्नेमा जोड दिए ।
अधिकार गुम्नुमा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित जाति समुदायको पनि गल्ती रहेको औल्याउँदै अध्यक्ष यादवले हरियो घाँस देखाउँदा लोभिनु मधेसी नेताको ठूलो कमजोरी रहेको बताए ।
काँग्रेस,कम्युनिस्ट पार्टीमा भएका दास मानसिकताका मधेसी नेता र लोभी मधेसवादी पार्टीका नेताको कारण मधेसी, आदिवासी जनजाति, थारू, मुश्लिम दलित समुदाय सम्मान अवसर र सहभागिताबाट बन्चित हुनुपरेको उनले बताए । उनले बर्तमान काँग्रेस- एमाले गठबन्धन सरकारले संविधान संशोधन गर्न चासो नदेखाएको टिप्पणी गरे ।
उनले अधिकार प्राप्तिको लागि एकजुट हुनुको विकल्प नरहेको बताउदै सामाजिक न्याय, समानता र अस्तित्व रक्षाको संघर्षमा सबैले सकारात्मक भुमिका निर्वाह गर्नु आवश्यक रहेको बताए ।
उनले नवनिर्वाचित जिल्ला नेतृत्वलाई पार्टी निर्माण, संगठन मजबुतीकरण र सामाजिक न्याय तथा अधिकारका लागि एकजुट भएर काम गर्न निर्देशन दिए । अध्यक्ष यादवले उत्पीडित समुदायका हकहितका मुद्दामा पार्टीले निरन्तर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीका केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादवले राजगढ घटना नश्लीय चिन्तनको उपज भएको जिकिर गर्दै निर्दोष लालु यादवको हत्या प्रकरणमा संलग्न दोषी प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्नेमा जोड दिए ।
राजविराज नगरपालिकाकी नगर प्रमुख इसरत परविनले पार्टीका लक्ष्य र उद्देश्य पूरा गर्न ईमान्दारिता र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
नवनिर्वाचित जिल्ला अध्यक्ष केदार यादवले संगठन बलियो बनाउन सम्पूर्ण कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । निर्वाचित पदाधिकारीलाई असहयोग गरे पार्टी हित विपरीत हुने बताउँदै उनले पार्टीको विधि र विधानलाई टेकेर सबै नेताकार्यकर्ताहरुको साथ सहयोग पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय अनुशासन विभाग संयोजक जगदेव यादव,केन्द्रीय सदस्य विकास तिवारी, शैलेन्द्र मोहन झा, अमरनाथ मण्डल, गीता यादव, सल्लाहकार समिति सदस्य श्यामदेव यादव, केन्द्रीय अनुशासन समिति सदस्य कैलाश यादव, प्रदेश लेखासमिती संयोजक अमृत साँफी, प्रदेश कार्यकारिणी सदस्य इसुफ अली, प्रदेश सदस्य किशोर कुमार यादव, केसी, जिल्ला निर्वाचन संयोजक कृषलाल यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अवसरमा अवकाश प्राप्त इन्जिनियर योगेन्द्र प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष यादवले गम्छा र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रम संचालन निर्वाचन मण्डल सदस्य एवम् प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादवले गरेका थिए ।