राजविराज–सखडा–गाविन्दपुर सम्मको सडक निर्माणका लागि दवावस्वरुप सोमबार सखडाबाट पैदल यात्रा गरिएको छ ।
यही सडक निर्माण होस् भन्नाका लागि ध्यानाकर्षण स्वरुप नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वमा १७ वर्ष अघि सञ्चारकर्मीहरुको सहभागितामा यस्तै पदयात्रा गरिएको थियो । छिन्नमस्ता शक्तिपीठसम्म पुग्ने सडकको अवस्था प्रायः लथालिंग नै रहने गरेका कारणले पटक–पटक जनस्तरबाट समेत आन्दोलन हुँदै आएको छ । तर केही महिना जसोतसो चल्ने पाराले मर्मत गरिए पनि अवस्था फेरि उस्तै रहने गरेको छ । जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने एक प्रमुख आधारका रुपमा रहेको छिन्नमस्ता मन्दिर सम्मको सडक स्तरीय बनाउन अति आवश्यक छ । देशैभरिका भक्तजन मात्र होईन छिमेकी मुलुक भारत समेतबाट दर्शनार्थीको ओईरो लाग्ने यस धार्मिक स्थललाई लक्षित गरी स्तरीय सडक निर्माण गरिनु पर्नेमा शायदै कसैको पनि विमति हुन सक्ला ।
दलका नेता, जनप्रतिनिधि देखि सबैले छिन्नमस्ता धार्मिक स्थलको विकासका बारेमा कुरा त उठाउने गरेका हुन्छन् । तर सडक जस्तो अत्यावश्यक पूर्वाधारको ठोस रुपमा काम गराउन नसकेका कारणले नै यस्ता दवावमूलक कार्यक्रम आयोजना गर्नु परेको हो । सान्तिकट दशैंमा अत्यधिक भिडभाड रहने छिन्नमस्ता शक्तिपीठ सम्म पुग्ने सडकको शिघ्र स्तरोन्नतिको आवश्यकता छ ।