न्यूज टुडे
राजविराज,२५ साउन ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिद्वारा एभिन्युज टेलिभिजन मधेस प्रदेशका बिशेष सम्वाददाता तथा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैद्यनाथ यादव माथि राजविराज स्थित दशन चौकमा बुधबार साँझ समाचार सम्प्रेषणको क्रममा आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरेको छ। नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव माथि आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेको हो ।
एभिन्युज टेलिभिजन मधेस प्रदेशका बिशेष सम्वाददाता वैद्यनाथ यादवमाथि समाचार संकलनको क्रममा भएको आक्रमण प्रति नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ” महासचिव क्रान्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘राजविराजमा राजगढ घटना आन्दोलनका प्रत्येक्ष प्रसारण गरिरहेको बेला एक समूहले आफुमाथी आक्रमण गरेको जानकारीसहितको निवेदन पत्रकार यादवबाट प्राप्त भएको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ,’समाचार संकलनको क्रममा संचारकर्मीमाथि हुने कुनै पनि आक्रमण प्रेस स्वतन्त्रतामाथि मात्र होइन लोकतान्त्रिक मूल्यमान्यतामाथि समेत गम्भीर आघात हो ।’
महासंघ यसघटनाको कडा शब्दमा निन्दा गर्दै सत्यतथ्य छानबिन गरि दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसंग माग गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय विभिन्न बहानामा संचारकर्मीमाथि आक्रमण तथा दुर्व्यहारको घटना हुने गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिद्वारा जारी विज्ञप्तिमा सचेत गराउदै संयमित भइ पत्रकार आचारसंहिताको पालना गरि जिम्मेवार संचारकर्म गर्न र महासंघको गरिमा समेत ख्याल गर्न आग्रह गरिएको छ ।
यसैगरी प्रेस मञ्च नेपाल संघीय समितिद्वारा पत्रकार यादवमाथि भएको आक्रमणको निन्दा गर्दै घोर भर्त्सना गरेको छ ।
‘लोकतन्त्रका आधार स्तम्भ मध्ये चौथो अंगको रूपमा रहेको प्रेसमाथि कार्यक्षेत्रमै भएको यस्तो अराजक तथा उच्छृंखल समूहद्वारा गरिएको सांघातिक आक्रमण लोकतान्त्रिक मूल्य मान्यता र कानुनी राज्यको स्पष्ट उल्लंघन हो भन्ने हाम्रो ठहर छ ।’ प्रेस मञ्च नेपाल संघीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ
‘सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३७ वर्षीय लालु यादवको प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको विषयमा स्थानीय संघर्ष समिति, जनप्रतिनिधि तथा नागरिकहरुसँग प्रत्यक्ष संवाद गरिरहेका बखत पत्रकार यादवमाथि आक्रमण हुनु आपत्तिजनक मात्र नभई प्रेस स्वतन्त्रता माथिको खुला धावा हो’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा पत्रकार यादवमाथि आक्रमण गर्ने दोषी उपर कडा कारबाही गर्न स्थानीय प्रशासनसंग जोडदार माग गरिएको छ ।
‘प्रेस मंच नेपाल संघीय समिति यस घटनाको घोर भर्त्सना गर्दै दोषी व्यक्तिहरूको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ’ कार्यबाहक अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साथै, पत्रकारहरूको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति र शान्तिपूर्ण ढंगबाट समाचार सम्प्रेषणको वातावरण सुनिश्चितता गर्न सम्बन्धित निकायहरूलाई जिम्मेवार बन्न आग्रह गर्दछौं ।’
‘यस आपराधिक घटनालाई लिएर नेपाल पत्रकार महासंघ सहित सम्पूर्ण सञ्चार क्षेत्रका सरोकारवाला निकायहरूले गम्भीर सरोकार राखी आवश्यक कदम चाल्न हामी अनुरोध गर्दछौं’ प्रेस मञ्च नेपाल संघीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।