न्यूज टुडे
राजविराज, २५ साउन ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले राजगढ घटनाको छानबिन गरि दोषीमाथि कडा कारबाही गर्न सरकारसंग जोडदार माग गरेको छ । केन्द्रीय अध्यक्ष मनिष कुमार यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढ २ कमलपुरका लालु प्रसाद यादवको हत्यारालाई कडा कारबाही गर्न माग गरेका हुन् ।
प्रहरीले नै गोली प्रहार गरि यादवको हत्या गरेको आरोप लगाउंदै समाजवादी विद्यार्थी युनियन नेपालले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घोर निन्दा गरेको छ ।
‘सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुर निवासी ३६ बर्षिय लालूप्रसाद यादवको मंगलबार राती प्रहरीले गोली प्रहार गरि हत्या गरेको दु:खद एवम् घोर निन्दनीय कार्य गरेको छ’ अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’यस हत्याप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।’
राजगढ घटना कानूनी शासन, मानवअधिकार विरोधी रहेको उल्लेख गर्दै विज्ञप्तिमा यसले राज्य संयन्त्र माथि अविश्वास बढाएको टिप्पणी गरिएको छ ।
‘स्वर्गीय यादव श्री खुवलाल जगर्नथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा सामाजिक कार्यमा क्रियाशिल रहेका थिए’ विज्ञप्तिमा भनिएको छ,’तथापि स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा गुण्डा एवम् दमनकारी शैलीमा नियन्त्रणमा लिने क्रममा उहाँलाई गोली प्रहार गरि ज्यान लिएको घटनाले सम्पूर्ण मानवअधिकार, न्याय प्रक्रिया र संयन्त्रको चरीत्रमाथि गम्भीर प्रश्न उब्जाएको छ ।’
विद्यार्थी युनियन नेपालले शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिने स्थितिमा बल प्रयोग गरिनु अमानवीय र गैरकानूनी भएको ठहर गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिनको लागि विभिन्न उपायहरु हुँदाहुँदै गोली प्रहार गर्नु शक्तिको दुरुपयोगको ज्वलन्त उदाहरण भएको भन्दै विज्ञप्तिमा संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएको भनी औल्याएको छ ।
‘यस घटनाको यथाशिघ्र छानबिन गरि दोषी प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसंग जोडदार माग गर्दछौं ।’ समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।