न्यूज टुडे
राजविराज,२२ साउन ।
सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका लालु प्रसाद यादवको घटना विरुद्ध राजविराज बन्द भएको छ । मदिरा व्यवसायी यादवमाथि गोली चलाउने प्रहरी अधिकृतलाई कारबाहीको माग गर्दै सप्तरी उधोग बाणिज्य संघले विहिवार बन्द आव्हान गरेको हो ।
सप्तरी उद्योग वाणिज्य संघले आव्हान गरेको बन्दका कारण सप्तरी सदरमुकाम राजविराजका पसल तथा बजार पूर्ण रुपले ठप्प भएको छ । संघले यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अनुमती पत्र लिएका मदिरा व्यवसायीको हत्या भएको भन्दै बन्द आह्वान पछि राजविराजमा बिहानैदेखि पसलहरु बन्द छ।
गोली चलाउने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कडा कारबाही गर्नुपर्ने, मृतक लालु यादवलाई सहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गर्नुपर्ने, सीमावर्ती बासिन्दाको सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने, घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि आयोग गठन गर्नुपर्ने माग उनीहरूको छ ।
माग सम्बोधन नभएसम्म शव नउठाउने अडान राखी मृतकका परिवारले अझै शव बुझेको छैन । मृतक यादवको शव हालसम्म पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ।
यादवको मृत्यु भएपछि आक्रोशित परिवारजन तथा स्थानीयबासीले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि दिनभरी प्रदर्शन गरेका थिए। भीड आक्रमक बनेपछि प्रहरीले साँझ अश्रुग्याँस प्रहार गरि भीडलाई तितरवितर पारेका थिए ।
स्थानीय राजनीतिक दल तथा आन्दोलनकारीहरुले संघर्ष समिति बनाएर विभिन्न चार बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
सप्तरी प्रहरीले भारततर्फ अबैध रुपमा मदिरा तस्करी भएको सूचना पाएपछि पुगेका प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि चलाइएको गोली लालुलाई लागेको बताउँदै आएको छ।