न्यूज टुडे
राजविराज,२१ साउन ।
सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा मंगलवार राती तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । मदिरा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि तस्कर समूहले ढुङ्गामुढा, घरेलु हातहतियारसहित र गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप ७ साउण्ड गोली फायर गरेको हो ।
घटनामा प्रहरीले चलाएको गोली लागेर स्थानीय रविकान्त यादवको छोरा बर्ष ३५ को लालु यादव घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरी निरीक्षक विरेन्द्र कुमार यादव र सहायक हवलदार सिकिन्द्र थारु समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी निरीक्षक यादव गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि फर्किसकेको तथा थारुलाई थप उपचारका लागि मधेस प्रदेश प्रहरी अस्पताल रुपनी रेफर गरि उपचार भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उदय कुमार राई नेतृत्वमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले प्रहरीको भनाइ छ ।घटना स्थलबाट प्रहरीले तस्करीका लागि तयारी गरिएको ठूलो परिमाणको मदिरा समेत बरामद गरेको छ ।
स्थानीयवासीका अनुसार पछिल्लो समय कमलपुर क्षेत्र मदिरा तस्करीको मुख्य केन्द्रको रूपमा सक्रिय बन्दै गएको छ । यस क्षेत्रबाट नियमित रूपमा सीमापारि मदिरा तस्करी हुने गरेको र नियन्त्रणको प्रयास गर्दा यस्ता झडप हुने गरेको बताइएको छ ।
बरामद मदिरा जिल्ला प्रहरी कार्यालयमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिए ।
यसअघि समेत सोहि क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा भारततर्फ लाने तयारीमा राखिएको मदिरा तथा सवारी साधन नियन्त्रणमा लिएका थिए ।
यसैगरी प्रहरीको गोली लागि यादवको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग राखी मृतकका आफन्त तथा स्थानीयबासीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।