न्यूज टुडे
राजविराज,२० साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ गोरपार स्थित मदरसा मुमताजुल उलुममा अनियमितता भएको खुलासा भएको छ । निवर्तमान अध्यक्ष मो.जिवरिल मिया र प्रधानाध्यापक मो. उस्मानको मिलोमतोमा अनियमितता भएको खुलासा भएको हो ।
कञ्चनरुप नगरपालिका ११ का निवर्तमान वडा अध्यक्ष समेत रहेका मो. जिवरिलले तत्कालीन अवस्थामा वडा अध्यक्षको जिम्मेवारीमा रहँदा २०७४ सालमा स्थापना गरेका थिए ।
नगरपालिकाको अनुदानबाट कक्षा २ सम्मको पढाइ हुने मदरसालाई पाउने सेवासुविधा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष र प्रधानाध्यापकले अबैध बाटोबाट निकासा गरी अपचलन गरेको स्थानीयको आरोप छ ।
निबर्तमान वडा अध्यक्ष र प्रधानाध्यापकले गैरकानुनी रुपमा नगरपालिकाबाट सेवा सुविधा लिएर अनियमितता गरेको स्थानीय मो. दाबुदले आरोप लगाए । विद्यार्थीका लागि खाँजा तथा अन्य सुविधा लिएर विद्यार्थीलाई नदिई दुबैजनाले एकआपसमा बाँडफाँड गर्ने गरेको उनको भनाइ छ ।
निवर्तमान वडा अध्यक्ष जिवरिलले आठ बर्ष अगाडि मदरसा दर्ता गरि निरन्तर नगरपालिकाबाट सुविधा उठाइ रहेको छ’ उनले भने,” अनियमितता गरेको विषयमा बोल्नेमाथि भौतिक आक्रमण गरिन्छ, नगरपालिकाबाट आउने सुविधा विद्यार्थीसम्म कहिले पुगेको छैन ।’
नगरपालिकाबाट खाजलगायतको नाममा लिएको सुविधाको तथ्यांक देखाउँदै उनले निरन्तर ७ बर्षदेखी नगरपालिकाबाट सुविधा लिने गरेपनि दुईजना विच बाँडफाँडमै सकिने गरेको आरोप लगाए ।
उनले अनियमितता बारे खबरदारी गर्दा, झुठो मुद्दा कुटपिट र अभद्र व्यवहार सहनु पर्ने बाध्यता रहेको दुखेको पोखे । दाबुदले आफुहरुमाथि हुने दुर्व्यवहार तथा कुटपिटबाटको घटना लिएर प्रहरीमा उजुरी दिन जाँदा सुनुवाइ नभएको गुनासो गरे ।
अनियमितताको विषयमा बादविवाद हुँदा मेरो आमा तेतरी मियान र निवर्तमान वडा अध्यक्षका आफ्नै भतिजा मो. उमेर माथि निर्घात कुटपिट भएको उनले बताए । उनले अन्य विद्यालयमा पढ्ने विद्यार्थीहरुको फर्जी रेकर्ड खडा गरी बार्षिक लाखौं अनियमिता हुने गरेको टिप्पणी गरे ।
मदरसा मुमताजुल उलुमका प्रधानाध्यापक मो. उस्मानले आफुहरुमाथि लगाएको आरोप निरधार रहेको बताए । विद्यालय दर्ता गराएको र नगरपालिकाबाट समेत सुविधा लिइरहेको स्वीकार गर्दै उनले विद्यालयमा आउने सुविधा निबर्तमान अध्यक्ष र आफ्नो खातामा जम्मा गरि उपयोग हुने गरेको बताए । उनले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको तथा नगरपालिकाबाट पत्र पठाइसकेकोले छिटै समिति गठन गरिने जानकारी दिए ।
प्रधानाध्यापक उस्मानका अनुसार कक्षा २ सम्म संचालनम रहेको मदरसामा हाल ४७ जना विद्यार्थी अध्यनरत रहेका छन् ।