सप्तरीमा लागू औषधको ओसार पसार र कारोबार अझै पनि रोकिएको छैन । पछिल्लो चरणमा आइतबार छिन्नमस्ता गाउँपालिका–१ स्थित बरही बिरपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरोबाट टोली खटेको र प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा उनीहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर नै गर्नु परेको थियो । यस अघि ठूलो परिमाणमा पटक–पटक गाँजा नियन्त्रणमा लिन प्रहरी सफल भएकै हो । यस बाहेक पनि लागू औषध ल्याउँदै गरेको अवस्थामा केही दिनको अन्तरालमै प्रहरीले त्यसमा कारोबारलाई नियन्त्रणमा लिँदै आएको छ भने बेवारिसे अवस्थामा पनि लागू औषध बरामद हुने गरेको छ । प्रहरीलाई देखेपछि भाग्ने क्रममा छोडेको लागू औषध प्रहरीले नियन्त्रणमा लिने गरेको हो । पटक–पटक लागू औषध बरामद भईरहँदा पनि यो अबैध धन्दा बन्द चाहीँ हुन सकेको छैन । एकातर्फ लागू औषध सहित व्यक्ति पक्राउ हुनुलाई प्रहरीको सफलता मान्न सकिएला । तर अर्कोतर्फ यसको कारोबार पूर्ण नियन्त्रणमा नआउनु भनेको एक प्रकारले चुनौती नै मान्न सकिन्छ ।
यस प्रकारको अवैध कार्यलाई नियन्त्रणमा ल्याउनका लागि अझै सक्रियताको आवश्यकता छ भन्दा अन्यथा नहोला । भारतीय सीमा नाकाबाट हुने गरेको यो अबैध कारोबार नियन्त्रणका लागि त्यस क्षेत्रको चेकजाँचमा कडाईका साथै यसमा संलग्न गिरोहको पहिचान गरी कारवाही चलाउन जरुरी छ ।