• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वरिष्ठ अधिवक्ता सिंह र  मैथिली अभियानता देव सम्मानित

वरिष्ठ अधिवक्ता सिंह र  मैथिली अभियानता देव सम्मानित
न्यूज टुडे
राजविराज, १६ साउन ।
दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह सम्मानित भएका छन् । मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको ३३औं स्मृति दिवसको अवसरमा वैद्य–प्रकाश मानव अधिकार कोष, सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच नगद ११ हजारसहित सिंह सम्मानित भएका हुन् ।
पुरस्कार ग्रहण गर्दै मैथिली अभियानता रुपा देव । फोटो : न्यूज टुडे
सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाई करिब पाँच दशकदेखि वकालत पेशामा सक्रिय रहनुभएका सिंहलाई कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
८४ वर्षीय सिंह विद्यार्थी आन्दोलन हुँदै कानुन व्यवसाय तथा मानव अधिकार क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले वि.सं. २०२६ सालदेखि सर्वोच्च अदालतमा वकालत सुरु गरेका थिए  भने २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थियो। हाल पनि उनी मानव अधिकार तथा प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय रहेका छन् ।
यसै अवसरमा “छैठौं उर्मिला देवी गीत गायन पुरस्कार–२०८२” बाट मैथिली महिला परिषद्का सदस्य रूपा देवलाई सम्मानित गरिएको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली लगायतले प्रमाणपत्रसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरी सम्मानित गरे ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो भाइबुहारी स्व. उर्मिला देवी झाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट विगत ६ वर्षदेखि मैथिली गीत गायनमा उत्कृष्ट महिलालाई सम्मान गर्दै आएका छन् ।
पुरस्कारका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण, न्यायाधीश बामदेव ज्ञवाली, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल,  कोशी प्रदेश संयोजक मनोहर पोखरेल,प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।