• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आठ वटै जिल्लामा खानेपानीको अभाव देखिन थालेपछि मधेश प्रदेश सरकारले यति बेला बारण यन्त्र र ट्यांकरबाट पानी वितरणको व्यवस्था मिलाएको छ ।
वर्षा अभावले खडेरी पर्दा रोपाइँ हुन नसकिरहेकै अवस्थामा खानेपानीको संकट पनि थपिएको छ । जहाँसम्म खानेपानी अभावको प्रश्न छ, समयमा ध्यान नदिँदाको परिणामका रुपमा यस्तो अवस्था आएको हो भन्दा अन्यथा नहोला । सप्तरीमा पनि ठाउँ–ठाउँका चापाकल सुक्न थालेपछि पानीको संकट देखिन थालेको छ । वर्षौ पहिले यहाँ सुरु गरिएका धेरै खानेपानी योजना अहिलेसम्म अधुरै रहेका छन् । जनतालाई स्वच्छ, पिउने पानी उपलब्ध गराउन भनी सुरु गरिएका अधिकांश असफल बनेका छन् । तिनलाई पूर्णता दिनुको साटो लथालिंग छोडेका कारण करोडौंको लगानी व्यर्थ भएको छ । अधुरा योजना किन सम्पन्न भएनन भन्ने विषयमा चासो लिएर समयमा तिनलाई पूर्णता दिन सकेको खाने पानीको यस्तो संकट सामना गर्नका लागि केही न केही सहजता पक्कै पनि हुने थियो होला । एक ठाउँमा सुरु गरेको योजना असफल भएपछि त्यसलाई पूरा गर्नेतर्फ नलागी अर्को योजनामा हात हालेर बजेट सक्ने प्रवृत्तिका कारणले पनि सप्तरीमा अहिले पानीको संकट बढेर गएको छ ।
त्यसैले समस्या बज्रेपछि मात्र ताप्ने भन्दा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वतयारी तर्फ लाग्नुलाई नै उपयुक्त मान्न सकिन्छ । अधुरा योजनालाई पूर्णता दिनाका साथै हाल चालु अवस्थामा रहेका खानेपानीका योजनाको पनि मर्मत सम्भार तथा क्षमता वृद्धितर्फ लाग्न सके पानीको संकट सामनाका लागि अवश्य पनि सघाउ पुग्ने छ ।