जनता समाजवादी पार्टी (जसपा)नेपाल सप्तरीको कार्यालयमा लागेको ताला खुलेको छ । जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादव र आन्दोलनरत यूवा विद्यार्थी वीच दुईबुंदे सहमति पछि मंगलबार ताला खोलिएको हो ।
ताला खोलेपछि कार्यालय भित्र सामुहिक तस्बिरमा नेतागण । फोटो : न्यूज टुडे
जसपा नेपाल विष्णुपुर गाउँपालिका १ को अधिबेशन विवादलाई लिएर यूवा विद्यार्थीले जसपा नेपाल सप्तरीको कार्यालयमा तालाबन्दी गरेका थिए । विष्णुपुर गाउँपालिका अध्यक्ष एवम् पार्टीका जिल्ला उपाध्यक्ष उमेश प्रसाद यादवको निर्देशनमा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादवलगायतकालाई कुटपिट गरेको आरोप लगाउँदै संलग्नहरुमाथी कानूनी कारबाही र वडा अधिबेशन सच्याउन माग राखी पार्टी निकट यूवा, विद्यार्थीले तालाबन्दी गरेका थिए ।
केहि माग सम्बोधन भइसकेको तथा बाँकी रहेका विवादहरु वार्ता सम्वाद मार्फत समाधान गर्दै जाने,हाल पार्टी जिल्ला कार्यालयमा लगाइएको ताला खोल्ने दुइपक्ष वीच सहमति भएको छ ।
सहमति पत्रमा पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष श्याम कुमार यादव, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका सदस्य एवम् मविव क्याम्पसका स्ववियु सभापति रन्जित यादवले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा पार्टीका मधेस प्रदेश सदस्य किशोर कुमार यादव (केसी), जिल्ला उपसचिव शम्भु कुमार यादव, समाजवादी यूवा संघका केन्द्रीय उपाध्यक्ष आतेश कुमार सिंह यादव, पार्टीका जिल्ला सदस्य विशेश्वर मण्डल, अरुण कुमार यादव लगायत नेताहरुको उपस्थिति थियो ।