• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय स्थापना गर्दा निकै उल्लाह, उत्साह र खुशियाली देखिएकै हो ।
मुलुककै प्रमुख जीवीकोपार्जनको रुपमा रहेको कृषि क्षेत्र र त्यस सम्बन्धि प्रविधिको जानकार प्राविधिक उत्पादनका लागि उच्च शिक्षा अध्ययनको अवसर मिल्ने भएका कारण उल्लास र खुशी हुनु स्वाभाविक नै थियो । आफ्नै भवन र अन्य आवश्यक पूर्वाधार नहुँदा पनि स्थापना लगत्तै विश्वविद्यालयमा स्नातक तहको पठनपाठन पनि सुरु भयो । भाडाकै घरमा भएपनि कक्षा सञ्चालन भएपछि विश्वविद्यालयको स्थायित्व रहने कुरामा अझै विश्वास बढेको हो । समय क्रमसँगै आफ्नै भवन निर्माणको थालनी समेत भएकाले राजविराजमा बाहिरबाट पनि कृषि विषयमा पठनपाठनका लागि आउनेहरुको संख्या बढ्ने र सप्तरीका विद्यार्थीका लागि त आफ्नै गाउँठाउँमा उच्च शिक्षा अध्ययनको यस्तो सुविधा प्राप्त हुनु गौरबकै विषय भन्दा अन्यथा नहोला । तथापि यति महत्वको यो शैक्षिक संस्थामा अनेकन विग्रह देखापर्न चाहीँ छाडेको छैन । जनता समाजवादी पार्टी, नेपालको नेतृत्वमा रहेको प्रदेश सरकारका समयमा स्थापना भएको यो विश्वविद्यालय राजनीतिक दलबीचको खिचातानीमा परेर केही समय प्रभावित बन्यो । तत्पश्चात सुचारुको क्रममा रहेको विश्वविद्यालयमा अहिले फेरि विद्यार्थीहरुले नै तालाबन्दी गरिदिएका कारण पठनपाठन प्रभावित बन्न पुगेको छ । शैक्षिक वातावरणमैत्री कक्षा कोठाको व्यवस्था, निर्धारित भन्दा बढी शुल्क लिन बन्द गर्नुपर्ने, नियमित प्रयोगात्मक कक्षा सञ्चालन, डेस्क बेञ्चको पर्याप्त व्यवस्था लगायतका माग राख्दै विद्यार्थीहरुले विश्वविद्यालयका उपकूलपति, रजिष्ट्रार, शैक्षिक प्रमुख लगायतलाई लिखित रुपमा माग राख्दा पनि सुनुवाई नहुँदा तालाबन्दीमा उत्रनु परेको विद्यार्थीहरुको भनाई छ । उनीहरुले राखेका मागहरु हेर्दा जायज नै रहेका छन् । तिनको परिपूर्तिका लागि विश्वविद्यालय प्रशासनले पहल गर्नुपर्ने जिम्मेवारी पनि हुन जान्छ ।
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले शैक्षिक वातावरणमैत्री व्यवस्थाका लागि गरेको आग्रहतर्फ सुनुवाई गर्दै वातावरण सहज तुल्याई पठनपाठन सुचारु गर्ने तर्फ ध्यान पु¥याउन आवश्यक छ ।