• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस कृषि विश्वविद्यालयको पठनपाठन ठप्प

मधेस कृषि विश्वविद्यालयको पठनपाठन ठप्प
न्यूज टुडे
राजविराज,१२ साउन । 
सप्तरीको राजविराज  ३ स्थित रहेको मधेस कृषि विश्वविद्यालयको पठनपाठन पूर्ण रुपले ठप्प भएको छ ।   शैक्षिक बाताबरणमैत्री पूर्वाधार व्यवस्था गर्नुपर्नेसहित विभिन्न माग सार्दै विद्यार्थीहरुले आइतबार ( कलेज अफ एग्रीकल्चर) शैक्षिक भवनको मुलढोकामा तालाबन्दी गरेपछि सोमबार पनि पठनपाठन सुचारु हुन नसेको हो ।
शैक्षिक बाताबरणमैत्री कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने, निर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरीएको रकम फिर्ता गर्नुपर्ने,  शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने,प्रयोगात्मक कक्षा नियमित गर्नुपर्नेसहितका माग राखी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
 समस्या बारे क्याम्पस प्रशासनलाई पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि तालाबन्दी गर्नु बाध्य भएको आन्दोलनरत विद्यार्थीको भनाइ छ । उनीहरूले माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान लिएका कारण दोश्रो दिनपनि विश्वविद्यालयको पठनपाठन ठप्प छन् ।
कक्षाकोठामा डेक्स बेन्चको अभाव र गर्मीमा चलाइने पंखाले ध्वनि उत्सर्ग गर्दा पठनपाठन प्रभावित हुने र गर्मी खप्नै नसक्ने ठाउँमा बसेर पढ्नुपर्ने अबस्था छ’ एक विद्यार्थीले भने, हामीले विश्वविद्यालयका भिसी,रजिस्ट्रार र शैक्षिक प्रमुख गरि सबैलाई लिखित रुपमा समस्या राख्यौं तर सुनुवाइ भएन ।’
क्याम्पसले तोकेको निर्धारित  शुल्क भन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरि रसिद उपलब्ध नगाएको र प्रयोगात्मक कक्षा नियमित नगरेको समेत  आन्दोलनरत विद्यार्थीहरुको आरोप छ ।
पहिले ३ लाख २० हजार शुल्क लाग्ने भनी सूचना जारी  गरेतापनि अहिले ४ लाख ५० हजार लिएको बताउंदै उनीहरूले पैसा तिएको रसिद नदिने र प्रयोगात्मक कक्षा पनि नियमित नहुँदा पठनपाठन प्रभावित हुने गरेको उनीहरुको भनाइ छ । 
क्याम्पसका शैक्षिक प्रमुख नवनित महतोले कक्षाकोठामा पूर्वाधार व्यवस्थापन गर्न माग राखेर विद्यार्थीहरुले कलेज अफ एग्रीकल्चर भवनमा गरेको  तालाबन्दी  खोल्ने प्रयास भइरहेको बताए । उनले विद्यार्थीहरुसंग समन्वय गरेर छिटै ताला खोलेर पठनपाठन कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रोत साधनको अभावले कहिले काहीं प्रयोगात्मक कक्षा प्रभावित हुने गरेको स्वीकार गर्दै उनले शुल्क बारे सूचना निकाल्दा गल्ती भई तोकिएको भन्दा कम  हुन गएको तथा बैक मार्फत शुल्क बुझ्ने हुँदा रसिद नदिएको बताए ।