• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सामुदायिक प्राथमिक विद्यालयका शिक्षकलाई कम्प्यूटर तालिम संचालन

सामुदायिक प्राथमिक विद्यालयका शिक्षकलाई कम्प्यूटर तालिम संचालन
उत्तम आचार्य
रुपनगर,११ साउन। 
सप्तरीको  कञ्चनरुप नगरपालिकाका सामुदायिक प्राथमिक विद्यालयका शिक्षकहरुका लागि’ २ महिने कम्प्युटर तालिम आयोजना गरिएको छ ।  कम्प्यूटर सिकाइ’ अभियान अन्तर्गत् प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाहरूलाई आधारभूत कम्प्यूटर तालिम संचालन गरिएको हो । 
रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले क्याम्पसको कम्प्यूटर प्रयोगशालामा  तालिम शुरू गरे ।सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाका तीन वटा सरकारी प्राथमिक विद्यालयका ११ जना शिक्षिका र एक जना शिक्षक गरी जम्मा १२ जना शिक्षक शिक्षिका उक्त तालिममा सहभागी रहेको क्याम्पस प्रमुख गजुरेलले बताए ।
प्राध्यापक गजुरेलको नेतृत्व तथा निर्देशनमा चल्ने यो दुई महिने आधारभूत कम्प्यूटर तालिम दलित सरोकार मञ्चका कम्प्यूटर प्रशिक्षक अविनाश गजुरेलले गर्ने जनाइएको छ ।
‘सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ’ नाम दिइएको शिक्षा सुधारका लागि थालिएको यो अभियान रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा थालिएको आयोजकले जानकारी गराएका छन् । 
सरकारी प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाका साथै ती विद्यालयमा पढ्ने बालबालिकाहरूलाई समेत आधारभूत कम्प्यूटर शीप सिकाइने  दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताए । 
एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले व्यवस्था गरेको प्रशिक्षकबाट बालबालिकाहरूलाई कम्प्यूटर सिकाउने कार्यक्रम विद्यालय हातामै सञ्चालन बताइएको छ। कम्प्यूटर सिकाइसँगै बालबालिकाहरूलाई अङ्ग्रेजी बोल्न समेत सिकाइने जनाइएको छ । 
कञ्चनरूप नगरपालिका अन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालय छनौट गरी यो अभियानमा सामेल गराइएको आयोजकहरूले जानकारी दिएका छन्।
‘हाम्रो अभियान भर्खर शुरू भएको छ। पहिलो चरणमा तीन वटा सरकारी विद्यालय मात्र छनौट गरेका छौँ,’ एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्याल  भने, ‘गाउँका गरीब परिवारका स-साना बालबालिकाहरूलाई कम्प्यूटर सिकाउने हाम्रो यो अभियान यी तीन वटा विद्यालयमा सफल भयो भने यसलाई हामी अझ विस्तार गर्नेछौँ।
अभियानको अर्को सहयात्री दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले, ‘हामीले थालेको यो अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गरिने बताए । 
‘कार्यक्रमको सफलताका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, समुदाय, जनप्रतिनिधि सबै पक्षको सहयोग चाहिँ जरूरी हुन्छ।’ उनले भने
‘चार कक्षामा पढ्ने तर कखरा र बाह्रखरी समेत राम्रो नजान्ने, अत्यन्तै पछाडि परेका यी साना बच्चाहरूलाई कम्प्यूटर सिकाउनुका साथै अङ्ग्रेजी बोल्न समेत सिकाउने हाम्रो उद्देश्य हो,’ प्राध्यापक गजुरेलले भने
‘हामीले गाउँको शिक्षामा एक प्रकारको ‘उथल पुथल’ ल्याउन खोजेका हौँ,’ उनले थपे, ‘साह्रै दुखद् र चिन्ताजनक अवस्थामा पुर्‍याइएको छ हाम्रो सार्वजनिक शिक्षाको स्तर। कसैले त शुरू गर्नुपर्‍यो! अर्कालाई गाली गरेर मात्र कति बस्ने? मैले चाहिँ के गरेँ? अन्तरआत्मालाई साक्षी राखेर आफैँलाई सोध्ने बेला भएन प्रत्येक नेपालीले?’
‘२०८२ चैत्रमा सकिने यो शैक्षिक सत्रको अन्त्य सम्ममा यी तीन विद्यालय प्रत्येकका कम्तिमा ४-६ जना विद्यार्थीलाई मात्र भए पनि कम्प्यूटर भेट्यो कि चलाइहाल्ने र टाक्क टुक्क अङ्ग्रेजी बोल्न सक्ने बनाउने हाम्रो अहिलेको उद्देश्य हो,’ पौड्याल, गजुरेल, र पासवान तीनै जना एक स्वरमा महत्वाकाँक्षी सुनिनु हुन्छ।’
बालबालिकाहरूलाई उनीहरूका विद्यालय हातामै दिइने तालिमका लागि आवश्यक कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षकको पारिश्रमिक दलित सरोकार मञ्चले व्यहोर्ने भएको छ।
‘गरीबका बच्चाहरू मात्र पढ्ने’ पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि पाँच कक्षा सम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवत: नेपालमै पहिलो  भएको आयोजक दावी छ । 
अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी रूपनगर नन्दराज संग्रौला क्याम्पसले पाएको छ। यसका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको क्याम्पसले जनाएको छ।