न्यूज टुडे
राजविराज, ११ साउन ।
मधेसमा लामो खडेरीको असरपछि मधेस प्रदेश सरकारद्वारा ६० दिने आपतकालिन कार्यक्रम संचालन भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा आएको हो।
खडेरी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरी जिल्लाका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार अबधेश झाले बताए ।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका करिव ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने उनले जानकारी दिए ।
कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । प्रदेश सरकारद्वारा सुख्खा क्षेत्र घोषणा र संघीय मन्त्रिपरिषद्को संकटग्रस्त घोषणापछि यो परियोजना संचालन भएको हो।
कार्यक्रम तीन चरणमा विभाजित गरिएको छ । जस अन्तरगत तत्काल पानी आपूर्ति गर्ने कार्य अन्तरगत खडेरीग्रस्त आपतकालीन पानी वितरण गरिनेछ।
‘यस्तै मध्यकालीन समाधान अन्तरगत गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिँचाइ प्रणालीको सुधार, र सरकारी समन्वयमा दीगो पानी प्रणाली निर्माण गरिनेछ।, उनले भने,’यस्तै जीविकोपार्जन पुनःस्थापना अन्तरगत कृषकहरूका लागि ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत, र वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग गरिनेछ।’