न्यूज टुडे
राजविराज,११ साउन ।
सप्तरीको राजविराज ३ स्थित रहेको मधेस कृषि विश्वविद्यालयको ( कलेज अफ एग्रीकल्चर) शैक्षिक भवनमा तालाबन्दी गरिएको छ । कक्षाकोठा शैक्षिक बाताबरणमैत्री पूर्वाधार हुनुपर्नेसहितको विभिन्न माग सार्दै अध्यानरत विद्यार्थीहरुले आइतबार भवनको मुलढोकामा तालाबन्दी गरेको हो ।
शैक्षिक बाताबरणमैत्री कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने, निर्धारित भन्दा बढी शुल्क लिनु बन्द गर्नुपर्ने, विद्यार्थीबाट बढी असुल गरीएको रकम फिर्ता गर्नुपर्ने, शुल्कको नगदी रसिद उपलब्ध गर्नुपर्ने,प्रयोगात्मक कक्षा नियमित गर्नुपर्नेसहितका माग राखी क्याम्पस प्रशासनलाई पटकपटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि दवाव सिर्जना गर्न तालाबन्दी गर्नु बाध्य भएको विद्यार्थीले बताए । उनीहरूले माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
कक्षाकोठामा डेक्स बेन्चको अभाव र गर्मीमा चलाइने पंखाले ध्वनि उत्सर्ग गर्दा पठनपाठन प्रभावित हुने र गर्मी खप्नै नसक्ने ठाउँमा बसेर पढ्नुपर्ने अबस्था छ’ एक विद्यार्थीले भने, हामीले विश्वविद्यालयका भिसी,रजिस्ट्रार र शैक्षिक प्रमुख गरि सबैलाई लिखित रुपमा समस्या राख्यौं तर सुनुवाइ भएन ।’
क्याम्पसले तोकेको निर्धारित शुल्क भन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरि रसिद उपलब्ध नगाएको र प्रयोगात्मक कक्षा नियमित नगरेको समेत आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाए ।
पहिले ३ लाख २० हजार शुल्क लाग्ने भनी सूचना गरेतापनि अहिले ४ लाख ५० हजार लिएको बताउंदै उनीहरूले पैसा तिएको रसिद नदिने र प्रयोगात्मक कक्षा पनि नियमित नहुँदा पठनपाठन प्रभावित भएको बताए ।
क्याम्पसका शैक्षिक प्रमुख नवनित महतोले कक्षाकोठामा पूर्वाधार व्यवस्थापन गर्न माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेको बताए । श्रोत साधनको अभावले कहिले काहीं प्रयोगात्मक कक्षा प्रभावित हुने गरेको स्वीकार गर्दै उनले शुल्क बारे सूचना निकाल्दा गल्ती भई तोकिएको भन्दा कम हुन गएको तथा बैक मार्फत शुल्क बुझ्ने हुँदा रसिद नदिएको बताए ।