उत्तम आचार्य
कञ्चनरुप , ७ साउन ।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रूपनगरमा बुधबारदेखि एउटा नवीन अभियान आरम्भ गरिएको छ। रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।
सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ’ नाम दिइएको यो अभियान अन्तर्गत् ‘सरकारी’ प्राथमिक विद्यालयका बालबालिकाहरूलाई कम्प्यूटर सिकाउने विशिष्ट कार्यक्रम शुरु गरिएको आयोजकले जनाएको छ ।
‘गरीबका बच्चाहरू मात्र पढ्ने’ पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवत: नेपालमै पहिलो भएको आयोजकले दाबी गरेको छ । तालिमका लागि कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ।
पहिलो चरणमा, कञ्चनरूप नगरपालिका अन्तर्गतका राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालय यो कार्यक्रमका लागि छनौट गरिएको आयोजकहरूले जानकारी दिएको छ ।
अभियान उद्घाटन कार्यक्रममा बोल्दै रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले अभियान अन्तर्गत कम्प्युटर सिकाउनुको साथै अंग्रेजी बोल्न पनि सिकाइने बताए ।
,’चार कक्षामा पढ्ने तर कखरा र बाह्रखरी समेत राम्रो नजान्ने, अत्यन्तै पछाडि परेका यी साना बच्चाहरूलाई कम्प्यूटर सिकाउनुका साथै अङ्ग्रेजी बोल्न समेत सिकाउने हाम्रो उद्देश्य हो’ उनले भने ‘बालबालिकाहरूलाई मात्र होइन, छनौट गरिएका तीन वटा सरकारी प्राथमिक विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई समेत आधारभूत कम्प्यूटर तालिम दिइनेछ ।’
कार्यक्रममा कम्प्यूटर हस्तान्तरण गर्दै एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्यालले रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १५ जना शिक्षक/शिक्षिकालाई दुई महिने आधारभूत कम्प्यूटर तालिम निशुल्क बताए । प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज संग्रौला क्याम्पसको कम्प्यूटर प्रयोगशालामा सञ्चालन हुने उनले जानकारी दिए ।
एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन गरिने यो नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गर्नेछ। यसका लागि क्याम्पस प्रमुखको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको जानकारी क्याम्पसले दिए ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक तथा कार्यक्रमका विशिष्ट अतिथि भोला पासवानले अभियान शिक्षा क्षेत्रमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
‘हामीले थालेको यो अभियानमा अपेक्षित प्रगति गर्न सकियो भने यसलाई आगामी दिनमा अझ विस्तार गर्नुका साथै थप शिक्षकको व्यवस्था गर्न सकिनेछ’ उनले भने ।
उच्च अदालतका अवकाश प्राप्त मुख्य न्यायाधीश तथा कार्यक्रमका विशिष्ट अतिथि कुमार प्रसाद पोखरेलले अभियानको सफलताका लागि शुभकामना दिँदै समाजका सबैले यसमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवि वहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रम संचालन युवा अभियानकर्ता मनिष कोइरालाले गरे ।