नर्मदेव यादव
रुपनी, ०६ साउन ।
लामो खडेरीले सिंचाइ समस्याले धान खेती प्रभावित भएपछि सप्तरीको रुपनी गाउँपालिकामा खाँडों खोलाबाट सिंचाइको सम्भाव्यता अध्यन गरिएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव नेतृत्वका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरुले मंगलबार खाडो खोलाबाट सिंचाइको सम्भाव्यता अध्यन गरेको हो ।
रुपनी गाउँपालिका वडा नम्बर १,२ र ५ लाई सिंचाइ सुविधा पुर्याउनका लागि तत्काल गर्न सकिने व्यवस्था बारे अध्यन गरि काम सुरु गर्ने उदेश्यले अनुगमन गरिएको रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले बताए । पानीको सतह गहिरिएर कल, बोर्डिङहरु जस्ता पानीको श्रोत सुक्न थालेकाले त्यसको समाधान गर्नको लागि खाडो खोलाबाट सिंचाइको सम्भाव्यता अध्यन गरिएको उनले बताए । रुपनी गाउँपालिकामा बैठक बसेर खाँडो खोलाको पानी किसानको खेतमा ल्याउन योजना बनाइएको उनले जानकारी दिए ।
तत्काल जमिनलाई रिचार्ज गर्न खाडो खोलाको पानीलाई सिंचाइमा रुपान्तरण गर्न रुपनी गाउँपालिका, सिंचाइ,डिभिजन कार्यलय, खाँडो नदी नियन्त्रण कार्यालयको सहयोग र सहकार्यमा तत्काल नकटी पैनी,बघाखाल पैनी,रायपुर पैनी,पौवा लौवापार पैनी,बसपिटी कुमरौल पैनी संचालन गर्ने,,दुधैला खोला नियन्त्रण गरि वडा नम्बर ६ स्थित जगमोहन, तेरहौता समेतलाई सिचाइको लागि अबिलम्ब काम सुरु गर्ने निर्णय भएको उनले बताए ।
अनुगमन टोलीमा रुपनी गाउँपालिका अध्यक्ष यादव,सिंचाइ डिभिजन कार्यलय सप्तरीका प्रमुख रमन साह,खांँडो नदि नियन्त्रण कार्यलय सप्तरीका नि प्रमुख चन्द नारायण यादव सेवा निवृत्त कर्मचारी संघ रुपनी गाउँपालिका अध्यक्ष भागवत यादव, नेपाली कांग्रेस रुपनी गाउँपालिका सभापति सुगम्बर यादव,जनमत पार्टीका युवा नेता भगवती यादव,नेपाल पत्रकार महासंघ सप्तरी कार्य समिति सदस्य नर्मदेव यादव,लगायत विभिन्न पार्टीका प्रतिनिधिहरु सहभागी थिए ।
उक्त अवसरमा गाउँपालिका अध्यक्ष यादवले सिंचाइ तथा खानेपानी समस्या समाधान गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।