रामनाथ यादव
राजविराज , ०५ साउन ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित निर्माणाधीन वडा कार्यालय भवन अधुरो रहेको छ । लाखौं खर्च गरेर निर्माण सुरु गरिएको वडा कार्यालय अझै अधुरो अवस्थामा रहेको हो ।
छ वर्ष अगाडिदेखि निर्माणाधीन वडा कार्यालय भवन लाखौं बजेट लगानी हुँदा समेत अधुरै रहेकाे स्थानीयहरुकाे आराेप छ ।वडा अध्यक्ष राेशन सिंहकाे कमिकमजाेरीका कारण वडा कार्यालयकाे भवन निर्माणमा ढिलाइ भएको स्थानीय देव नारायण यादवले आरोप लगाए ।
वडा अध्यक्ष सिंहले वडा भवन निर्माणमा आवश्यक वजेट विनियोजन गर्न नचाहेकोले समयमा काम सम्पन्न हुन नसकिएको उनको आरोप छ । भवन अभावका कारण हाल वडा कार्यालय विद्यालयको एउटा काेठामा संचालन गरिरहेको उनले जानकारी दिए ।
प्रत्येक वर्ष वडा कार्यालय भवन निर्माणमा बजेट विनियोजन गरिएपनि उपभोक्त समितिले कमाउने धन्दा वनाएकाे स्थानीयकाे आराेप रहेकाे छ ।
वडाको भवन निर्माण कार्य सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको स्थानीय शिवनाथ यादवकाे गुनासो गरे ।
वडाकाे आफ्नै जग्गा र भवन भए पनि वजेट अभावका कारण कामले पूर्णता नपाएको स्थानीय याेगेन्द्र यादवले वताए । गाउँपालिकाका पूर्व अध्यक्ष सतिस कुमार सिंहले वडा कार्यालय भवनका लागि २६ लाख रुपैयाँमा दुई कठ्ठा जग्गा खरिद गरि वडा कार्यालय भवनलाई वहुवर्षिय याेजनामा राखी वडा भवन निर्माण सुचारु गरेका थिए । वडा भवन निर्माणमा विनियोजित वजेट उपयोग नहुँदा भवनले पूर्णता पाउन नसकेको स्थानीय वताउँछन ।
वि. सं.२०७६ सालमा वडा कार्यालय भवनकाे शिलान्यास राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले गरेका थिए ।
गाउँपालिका पुर्व अध्यक्ष सतिस कुमार सिंहले चार बर्ष अगाडि वडा कार्यालयको भवन निर्माणका लागि ५४ लाख रकम विनियोजन गरेको थियो । तर २५ लाख रुपैयाँको मात्र काम भएको थियो । गत बर्ष नै निर्माण हुने भनिएको भवन अहिले सम्म अधुरो नै रहेकाे स्थानीय शिवनाथ यादवले बताए ।
वडा अध्यक्ष सिंहले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले चाडै नै वडा कार्यालय आफनै भवनमा संचालनमा ल्याई सेवाप्रवाह हुने जानकारी दिए ।