• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सुरुङ्गा नगरपालिकामा नागरिकताको सिफारिस दस्तुर आठ सय नब्बे

सुरुङ्गा नगरपालिकामा नागरिकताको सिफारिस दस्तुर आठ सय नब्बे
न्यूज टुडे
राजविराज, ०१ साउन । 
सप्तरीको सुरुङ्गा नगरपालिकामा नागरिकताको सिफारिसको ८ सय ९० रुपैयाँ दस्तुर लिने गरेको पाइएको छ ।  वडा नम्बर ३ का एक सेवाग्राहीले बिहीवार नागरिकता सिफारिस लिएबापत उक्त दस्तुर बुझाएको रसिद सामाजिक संजालमा सार्वजनिक गरेपछि सो कुरा बाहिरीएको हो ।
स्थानीय खेमराज सिंहले नागरिकताको सिफारिस बापत वडा  नम्बर ३ को कार्यालयले ८ सय ९० रुपैयाँ लिएको भन्दै गुनासो गरेका छन् । उनले नागरिकताको सिफारिस दस्तुर बढी लिएको बारे वडा अध्यक्ष किरण कुमार पोखरेलसहितका जनप्रतिनिधिहरु समक्ष राख्दा सुनुवाइ नभएको बताए । 
‘जिल्ला प्रशासन कार्यालयमा आफ्नै नागरिकताको प्रतिलिपीका लागि आवेदन गर्दा नयाँ प्रक्रियाबाट लिनको लागि वडाबाट सिफारिस लिनुपर्छ भनेर बिहिवार वडा कार्यालय गएँ’ न्यूज टुडेसंग कुरा गर्दै उनले भने,’वडाले सिफारिस पनि दियो तर दस्तुर भने बढी नै लिएपछि वडा अध्यक्षलाई भन्दा कुनै सुनुवाइ गरेन ।’ 
वडा कार्यालयले नागरिकताको सिफारिस बापत सेवाग्राहीबाट बढी असुली गरेको सिंहको भनाइ थियो । उनले दलित विपन्न समुदायले नगरपालिकाबाट सेवा लिन अत्यन्तै कठिनाई हुने भएकोले सरकारी दस्तुर घटाउनु पर्नेमा जोड दिएका छन् । 
वडा नम्बर ३ का वडा अध्यक्ष पोखरेलले रसिद काट्ने सचिबको जिम्मेवारी भएकोले यसमा सचिबसंग बुझेर मात्र भन्न सकिने भन्दै पन्छिन खोजे । उनले सेवाग्राही र सचिब दुबैजनालाई शुक्रबार ८ बजे बोलाइएकोले त्यसपछि मात्र अन्य कुरा भन्न सकिने प्रतिक्रिया दिए । 
उनले पत्रकार भन्दैमा जतिखेर पनि फोन गर्नु  हुँदैन भन्दै पत्रकारिताको गर्ने शैली खराब भएको भनि प्रश्न उठाए ।