न्यूज टुडे
राजविराज,३० असार ।
सप्तरीको राजविराज नगरपालिकामा सोमबार तालाबन्दी गरिएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका– १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मुल गेटमा ताला लगाएको हो ।
राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाइते यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना बसेका छन् ।
पीडित परिवारले तालाबन्दी गरेपछि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन्। पीडितका आफन्तले नगरपालिका कार्यालयमा तालाबन्दी गर्दा उनीहरू कार्यालयभित्रै थुनिएका हुन् ।
नगरपालिकामा पटकपटक शान्तिपुर्ण आन्दोलन गर्दा कार्यबाहक नगरप्रमुखले आजभोलि भन्दै आश्वासन मात्र दिएपछि बाध्य भएर तालाबन्दीसहित सशक्त आन्दोलनमा उत्रिनु परेको पीडित परिवारको भनाइ छ । क्षतिपूर्ति नपाएसम्म तालाबन्दीसहितको आन्दोलनका कार्यक्रम जारी राख्ने उनीहरुले अडान लिएका छन् ।
घटनाको महिनौँ बितिसक्दासमेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुःखेसो सुनाए ।
२०८२ माघ १ गते हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदेबसराइन नगरपालिका– ५ मा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका– १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।
अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको राजेशका बडाबुवा बैधनाथ यादवले बताए । नब्बे दिन आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए ।
अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिका लागि नगरपालिकामा पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएको पीडित परिवारको आरोप छ।