न्यूज टुडे
राजविराज,२९ असार ।
जनमत पार्टीले पार्टी विरोधी गतिविधीमा संलगन निलम्बित उपाध्यक्ष दिपक साह ,कोषाध्यक्ष सुरेन्द्र नारायण यादवसहितकालाई कारबाहीको माग गरेको छ । जनमत पार्टीको सप्तरी जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यहरुको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी विरोधी गतिविधीमा संलगन निलम्बित उपाध्यक्ष साह , कोषाध्यक्ष यादवसहितकालाई साधारण सदस्य नरहने गरि कारबाही गर्न पार्टी सचिवालयमा पठाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा बसेको बैठकले निलम्बित दिपक र सुरेन्द्र विगतमा पनि पार्टीको अनुशासन तोडेको, व्यक्तिवादी र स्वार्थी चरित्र देखाएको तथा चुनावका समयमा पार्टी विपरित गतिविधी गरेको पुष्टी हुने तथ्य प्रमाण फेला परेकोले साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
निलम्बित अवस्थामा अनाधिकृत रूपमा पार्टीको नाम र झण्डा प्रयोग गरि कार्यकर्तालाई दिग्भ्रमित पार्ने कार्य गरेको आरोप पनि दिपक र सुरेन्द्रमाथी छ ।
पार्टीको रकम दुरुपयोग गरेको, पार्टीका नाममा आएको लेवीको रकम अपचलन गरेको, पार्टीको रकमवाट खरिद गरिएको सम्पति निजिकरण गरि फिर्ता गर्न आनाकानी गरेको आरोपमा जनमत पार्टीले तात्कालिन उपाध्यक्ष दिपक साह , कोषाध्यक्ष सुरेन्द्र नारायण यादवसहितका लाई निलम्बन गरिसकेको छ ।