• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चुरेको बढ्दो विनाशले तराईमा पानीको संकट आउँछ, मरुभूमिकरणको जोखिम बढ्छ भनेर वर्षौ अघिदेखि चिन्ता व्यक्त गरिदै आएको छ । तर समयमा ध्यान नदिंदाको परिणाम अब क्रमशः देखा पर्न थालेका छन् ।
साउन लाग्ने समयमा मधेश प्रदेशका जिल्लाहरुमा भने खाने पानीको संकट देखा पर्नुलाई चुरे विनाशले निम्त्याएको अनिष्टको संकेट मान्न सकिन्छ । चुरेको दोहन गर्दै वन सखाप पार्ने, ढुंगा, गिट्टी, बालुवा निकालेर बेच्ने, चुरेकै आसपास क्रसर उद्योग चलाउने, ठेक्का लिएको नाममा मापदण्ड मिचेर चुरै आसपासका खोलामै डोजर चलाएर वालुवा, गिट्टी निकाल्ने जस्ता गतिविधि नरोकिएका कारणले चुरे माथि नै संकट आएको हो । तराईमा जल सतह, सुरक्षित राखि रहनका लागि पहिलो चुरे सुरक्षित रहनु पर्छ भन्दै आएको आजदेखि नभई वर्षौ अघिदेखि यस कुराको चर्चा परिचर्चा भई नै रहेको छ । तराईका अधिकांश इनार, पोखरी लोप हुने क्रममा छन् । पोखरीका नाममा करोडौं करोडको बजेट वर्षेनी खर्च भईरहेको छ । ‘सौन्दर्यीकरण’ का नाममा पानी नै नभएका पोखरीको छेउछाउमा कंक्रीटको घेरा लगाउने र रकम भुक्तानी लिएर बजेट सिध्याउने क्रम अहलिे पनि चलेकै छ । तर यसरी बजेट खन्याईएको पोखरीमा पानीको अवस्था कस्तो छ, किन पोखरी सुक्दैछ भन्ने तर्फ चिन्तन जति हुनुपर्ने हो त्यस अनुरुप नभएका कारणले पानीको रिचार्जमा ठूलो योगदान पु¥याउँदै आएको यो महत्वपूर्ण संरचना क्रमशः लोप हुने अवस्थामा छ । पोखरी, इनार सुरक्षित रहेको भए सानातिना सिँचाईका लागि तिनकै पानी प्रयोग गर्ने सकिन्थ्यो । तर जीवन जीविकासित जोडिएको यस कुरामा गम्भीरता नदेखाईएका कारणले पनि जलसंकट बढ्दो छ । पानी रिचार्ज हुन नसकेका कारणले नै चापाकल सुक्न थालेका छन् । गाउँ गाउँमा प्लाष्टिकका बोतलमा प्याक गरी विक्रीका लागि पठाइएको पानी किनेर पिउने परम्परा विकसित हुँदै गएको छ ।
चुरेमाथिको दोहन रोकेर त्यसलाई जोगाउने, इनार पोखरी, कुवा लगायतका जलाशयको संरक्षण गर्ने, हरियाली कायम गरी असन्तुलित बन्दै गएको वातावरणमा सुधारको पहल लगायतका कुरामा अब पनि चासो नलिने हो भने आगामी दिनमा पानीको संकट अझै भयावह बनेर जानेमा आशंका नरहेका कारण समयमै यस प्रति ध्यान पु¥याउन जरुरी छ ।