न्यूज टुडे
राजविराज, २९ असार ।
मधेस प्रदेशका उधोग वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर वसन्त कुशवाहाले भारतबाट आउने पर्यटकहरुलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएका छन् । मधेस प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयलाई आइतबार पत्र लेख्दै मन्त्री कुशवाहाले यस्तो निर्देशन दिएका हुन् ।
‘भारतीय सिमानाकाबाट नेपाल घुम्न आएका पर्यटकहरुलाई सीमानाकाहरुमा सुरक्षा चेकजाँच लगायतका नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यावहार नहुने जस्ता गुनासो आएकोले भारतबाट आउने पर्यटकलाई आवश्यक सहजीकरण गर्न-गराउन हुन अनुरोध गर्दछु’ मन्त्री कुशवाहाले पत्रमा उल्लेख गरेका छन् ।
सप्तरी देखि पर्सासम्मका जिल्ला प्रशासन कार्यालयलाई गरिएको पत्राचारमा गृह मन्त्रालय सिंहदरबार काठमाडौ, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेस प्रदेश, जनकपुरधाम र गृह सञ्चार तथा कानून मन्त्रालय मधेस प्रदेश, जनकपुरधामलाई समेत बोधार्थ दिइएको छ ।