सप्तरीमा पत्रकार, वन कर्मचारी तथा पदाधिकारीहरुले आइतबार वन क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१/०८२ मा संचालित विभिन्न योजना तथा कार्यक्रमको पत्रकार, वन कर्मचारी तथा पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
प्राङ्गृरिक मल उत्पादन बारे जानकारी दिदै रक्तमाला समुदायक वनका अध्यक्ष लुइँटेल । फोटो : न्यूज टुडे
डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आयोजित वन क्षेत्र अनुगमन तथा निरीक्षण कार्यक्रम अन्तर्गत सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिकालगायतका जिल्लाका विभिन्न वन क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
सप्तकोसी नगरपालिका १ स्थित वनक्षेत्रमा रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त साझेदारी जैविक तथा सहिद पार्क निर्माण स्थल र पर्यावरण स्थलमा गरिएका बन संरक्षण पर्यावरण सुरक्षा बारेको प्रयास बारे स्थानीयबासी र सामुदायिक वनका पदाधिकारीसंग जानकारी लिएको थियो ।
शव डिभिजन वन कार्यालय कंचनपुरमा लगाइएको नर्सरी । फोटो : न्यूज टुडे
उक्त स्थानमा ३४७.५ हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रीहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण तथा बृक्षारोपणका कार्य गरिएको रक्तमालाका अध्यक्ष इन्द्र प्रसाद लुइँटेलले बताए । जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडिबुटी तथा फलफुलका बृक्षारोपण, विभिन्न प्रजातिका विरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादन र विक्री गरि बार्षिक लाखौं आमदानी हुने गरेको अध्यक्ष लुइँटेलले जानकारी दिए ।
जैविक तथा सहिद पार्क भित्र निर्माणाधीन ट्रीहाउस । फोटो : न्यूज टुडे
उनले रुखको झारेको सुकेको पात र वनमा पोथ्रा रुखको हरियो पात कुहाएर प्राङ्गरिक मल उत्पादन गरि किसानलाई वितरण गर्ने गरेको बताए । बनमा खेर जाने पात पतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडिबुटीको बोट रोप्ने तथा पार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि अनुसन्धान केन्द्रको रुपमा विकास गरि वन संरक्षण, स्वच्छ बाताबरण र आयआर्जणसंग जोड्ने उदेश्यले काम भइरहेको उनले जानकारी दिए ।
उनले एकपटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियो पात मिलाएर २० हजार किलो प्राङ्गरिक मल उत्पादन गर्दै आएको बताए । जैविक तथा हरित पार्कबाट बार्षिक २२ लाख आमदानी लिने गरेको अध्यक्ष लुइँटेलले बताए ।
जिल्ला वन कार्यालयले मातहतका सव डिभिजन कार्यालयहरुमा नर्सरी लगाएर लाखौं विरुवा उत्पादन गर्ने तथा समुदाय स्तरमा वितरण गर्ने गरेको डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले बताए ।
उनका अनुसार खैर, अमला,लताम,सिसौ,अर्जुन, टिक मसला,मलेसियन सखुवा, तेज पत्ता, आँप, लिची, मोरिङ्गालगायतका विभिन्न प्रजातिको विरुवा उत्पादन भइरहेको छ ।
सप्तरीमा कुल २१ हजार १ सय ३६ हेक्टर वनक्षेत्रमा १ सय ३७ सामुदायिक वन र ६ वटा सव डिभिजन वन कार्यालयले वन संरक्षणको कार्य गरिरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए ।