न्यूज टुडे
राजविराज,२८ असार ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पञ्चायतीकालको अवशेष अझै समाप्त नहुँदा सामन्ती संस्कार समुदायमा कायमै रहेको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा शनिबार स्थानीयबासीसंग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।
सामन्ती सोच हावी रहँदा व्यवस्था कार्यान्वयनमै चुनौती थपिएको बताउँदै मन्त्री लेखीले आफुले परिवर्तन गर्न खोज्दा धेरैको टाउको दुखाइ बन्न पुगेको उल्लेख गरे ।
‘जनप्रतिनिधि, मन्त्री गाउँघरमा आउँदा ठुला-ठालूको घरमा उनीहरुलाई सूचना दिएर आउने विगतको परम्परा थियो’ उनले भने,’ मैले पुरानो शैलीमा परिबर्तन ल्याउने प्रयास गरेको छु, सर्वसाधारणसंग सिधा सम्पर्क गरेर भेटघाट गरि गुनासो सुन्ने गरेको छु , तर यो कुरा कतिलाई अपच भएको छ । परिबर्तन नचाहनेहरुले घेराबन्दी गर्दैछ ।”
मन्त्री लेखीले समानता, समाबेशीता र समतामुलक समाज निर्माण बर्तमान शासन व्यवस्थाको मुल नीति रहेकोले यो व्यवस्था कार्यान्वयन व्यवहारमा देखिनुपर्नेमा जोड दिए ।
गाउँपालिकासहितका सरकारको योजनाहरु अपारदर्शी र गुणस्तरहीन भएको स्थानीयको गुनासोलाई सम्बोधन गर्दै मन्त्री लेखीले बजेट सहि सदुपयोग र गुणस्तरीय कार्यका लागि उपभोक्ता स्तरबाट खबरदारी गर्नु आवश्यक रहेको बताए । कुनैपनी योजनामा भ्रष्टाचार गर्ने जो कोहीलाई स्थानीयबासी मिलेर नाङ्गोझार गर्नुपर्ने उनको भनाइ थियो ।
दलित, महिला, मुश्लिम, मधेसी, थारु, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायले राज्यको हरेक निकायमा समान प्रतिनिधित्व र अवसर पाएमात्र संघीय लोकतान्त्रिक गणतन्त्रको महसुस गर्ने लेखीको कथन थियो।
स्थानीयको माग र आवश्यकतालाई प्राथमिकीकरण गरि प्रदेश सरकारले आव २०८२/०८३ का लागि एउटै वडामा दर्जनौं योजनामा बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री लेखीले स्थानीय स्तरको थप समस्या पहिचानका लागि सल्लाह सुझाव संकलन गर्न भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले चालू आव २०८१/०८२ मा संचालित योजना कार्यान्वयन तथा पारदर्शिता र गुणस्तरीयताको विषयमा समेत जनधारणा लिएर सुधार गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लेखीले शनिबार नै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गतका ६ वटै वडाका विभिन्न स्थामा स्थानीयबासीसंग भेटघाट गरि समस्या र गुनासो संकलन गरेका छन् ।