• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेस प्रदेश सुख्खा क्षेत्र घोषणा
न्यूज टुडे
राजविराज, २७ असार । 
मधेश प्रदेश सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।  बिहिवार साँझ बसेको मन्त्री परिषदको बैठकले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताए । 
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरुका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए  ।
 यसैगरी कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान समेत गरेको छ । 
यसैगरी मन्त्रिपरिषदको बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएकाे खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत  मन्त्रिपरिषदले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झाले जानकारी दिए ।