• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रोपाइँको समय उत्कर्षमा रहँदा पनि सप्तरीमा किसानहरुले अहिलेसम्म रसायनिक मल पाउन सकेका छैनन् ।
सहकारी संस्था मार्फत किसानलाई मल बाँडने भनिए पनि आवश्यकता भन्दा अति न्यून मल दिएको भन्दै ‘झारा टार्ने काम गरेको’ भनेर किसानहरुले आरोप लगाउन थालेका छन् । धानबालीका लागि जति रसायनिक मलको आवश्यकता छ त्यस अनुपातमा गत वर्ष पनि उपलब्ध हुन सकेको थिएन । विगतको अनुभवबाट समेत शिक्षा लिँदै चालु वर्षका लागि आवश्यकताको अनुपातमा रसायनिक मलको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको भएपनि पुरानै प्रवृत्ति दोहोरिएको छ । मलको खोजीमा भौतारिईरहेका किसानहरुको समस्या समाधान नभईरहेकै अवस्थामा यस वर्ष मधेश प्रदेशमै अहिलेसम्म वर्षा भएको छैन । रसायनिक मलका साथसाथै किसानले पानीको समेत अभाव व्यहोर्नु परिरहेको छ । सप्तरीको अवस्था हेर्ने हो भने धानवाली लगाउने कूल क्षेत्रफलको १५ प्रतिशत जमीनमा पनि अहिलेसम्म रोपाइँ हुन सकेको छैन । नहरबाट सिञ्चित मध्येका केही ठाउँमा रोपाइँ गरिएको भएपनि वर्षा नहुँदा अन्य ठाउँमा धानको बीऊ नै सुक्न थालेको छ । तीन–तीन वटा नहर प्रणाली रहँदा पनि सप्तरीका अधिकांश किसानले आकाशकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । कमाण्ड एरियासम्म सबै ठाउँ नहरको पानी पुग्न नसकेका कारणले पनि रोपाइँ प्रभावित हुने गरेको छ ।
नहरको मर्मत सम्भार तथा स्तरोन्नतिको काम समयमा गर्नुका साथै यसको विस्तार गर्न सकिएको भए अवश्य पनि यस्तो अवस्था रहने थिएन होला । उसै पनि विभिन्न समस्या झेल्दै आएका सप्तरीका किसानलाई यस वर्षको खडेरीले अझै आहत तुल्याएको छ । पीडित किसानहरुका समस्यालाई बुझेर उनीहरुलाई के कस्तो राहत दिन सकिन्छ भन्नेमा सोच्न आवश्यक छ ।