• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

महोत्तरी स्थित पूर्वाधार विकास कार्यालयमा आर्थिक लेनदेन गरी रातीको समय पारेर भुक्तानी दिने गरिएको कुरा यति बेला सुबै चर्चामा आएको छ ।
दिउँसो सुनसान झै रहने कार्यालयमा राती–राती प्रहरी परिचालन गरेर सर्वसाधारणलाई रोक लगाउँदै भुक्तानी दिने गरिएको, कार्यालय भित्रै मदिरा सहितको भोज गरिएको समाचार छ । अचम्मको कुरा त के छ भने कार्यालयमा पुगेका पत्रकारलाई कर्मचारी र निर्माण व्यवसायीले दुव्र्यवहार र सञ्चार सामग्री नियन्त्रणमा लिने काम भएको छ । उक्त दृष्य यति बेला सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती नै भएको देखिन्छ जसमा बाहुवली शैलीमा पत्रकारलाई थकाईने, धक्का दिने देखि जाई लाग्ने समेतको दुष्कर्म भईरहेको छ । जनताले तिरेको कर, तिरोबाट खडा भएको राज्यको कोषको रकम खर्च गरी सरकारले जनताकै लागि विकास निर्माणको काम गर्ने गर्दछ । सरकारी बजेटको दोहन, लुट र भ्रष्टाचार र अनियमितता गरिन्छ भने त्यो सार्वजनिक चासोको विषय हुन जान्छ । पूर्वाधार विकास कार्यालयमा यस प्रकारको ताण्डव (कुकृत्य) भईरहको छ भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुमाथि त्यहाँ तैनाथ तिघ्रेमुङग्रेहरुले पत्रकारलाई नै धक्का मुक्की गर्ने, सञ्चार उपकरण नियन्त्रणमा लिने र समाचार संकलनमा अवरोध पु¥याउने हर्कत भईरहँदा समेत पूर्व जानकारी पाएका प्रहरीले सुरक्षा प्रदान गर्न नसक्नु, बरु उल्टै त्यहाँबाट प्रहरी टोली पछाडि हटनाले यस गोरख धन्दामा कतै प्रहरीको समेत मिलेमतो त छैन? भन्ने आशंका उठेको छ । सरकारी बजेटमाथि असार मसान्तको समय पारेर हुने गरेको यस प्रकारको दोहन नरोकिने हो भने सरकारले जनाएको सुशासन प्रतिको प्रतिबद्धता उपरकै उपहासको विषय नबन्ला भन्न सकिन्न । उक्त कार्यालयमा रहेको बेथितिका बारेमा सामाजिक सञ्जालबाट धेरे कुरा भाइरल भईसकेको छ ।
अब त्यसका दोषी तथा बेथितिमा संलग्नहरु उपर कारवाही हुन्छ कि हुँदैन भन्ने कुरा हेर्न मात्र बाँकी छ । दोषीमाथि कारवाही नचलाई उन्मुक्ति नै दिने हो भने सुशासनमाथि नै चुनौती नबन्ला भन्न सकिन्न ।