• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महुलीमा गुणस्तरहीन सामाग्रीबाट गिलेशनको छ्त ढलान, स्थानीयको विरोध

फन्यूज टुडे
राजविराज,२५ असार ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुली बजारमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरि गिलेशनको छ्त ढलान गरेको स्थानीयले आरोप लगाएका छन् ।  मिश्री पान, रविन पानको लाइनमा गिलेशन निर्माण गाउँपालिका स्तरीय योजनामा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गरि छ्त ढलान गरेको स्थानीयले आरोप लगाएका हुन् ।
स्थानीयको विरोधका वीच सडकमा लगाउने ग्राभेल प्रयोग गरि गिलेशनको छत ढलान गरेको स्थानीय पत्रकार रामनाथ चौधरीले बताए । माटो मिसिएको ग्राभेल प्रयोग गरेको देखेर स्थानीयले विरोध जनाएपनि  सोही सामाग्रीको प्रयोग गरेर रातरात छ्त ढलान गरेको उनले जानकारी दिए ।
गुणस्तरीय गिट्टीबालुवा प्रयोग गर्न  उपभोक्ता समितिलाई अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीय श्यामकान्त चौधरीले बताए ।  उनले पैसा कमाउने नियतबस यस्तो कमसल निर्माण सामाग्री प्रयोग गरेको आरोप लगाए ।
‘बजार जस्तो ठाउँको गिलेशन गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो जोड थियो, तर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको छ’ उनले भने,’यो सरासर भ्रष्टाचार हो, यसमा सम्बन्धित निकायले छानबिन गरि संलग्न व्यक्तिहरुमाथी कारबाही चलाउनु पर्छ ।  मानवीय सुरक्षासंग खेलवाड गर्न पाइदैन । ‘
गुणस्तरहीन सामाग्री प्रयोग बारे गाउँपालिका, वडालाई पटकपटक खबर गर्दा समेत बेखबर जस्तै बसेको स्थानीयले गुनासो गरे ।  जनप्रतिनिधि र कर्मचारीहरुकै मिलोमतोमा कमिसन लिएर यस्तो कम्जोर संरचना निर्माण गरिएको उनीहरुको आरोप छ ।
उक्त योजनामा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको तर्फबाट ३० लाख, जनसहभागिता ३ लाख ४३ हजार २ सय ८८ गरि कुल ३३ लाख ४३ हजार २ सय ८८ रुपैयाको लागतमा गिलेशन निर्माण गरिएको हो ।
स्थानीय उपभोक्ता समिति मार्फत २०८२/०१/ १५ देखि  काम सुरु गरि २०८२/ ०३/ १५ गते काम सम्पन्न गर्ने गाउँपालिका र उपभोक्ता समिति वीच सम्झौता भएपनि असार २३ गते राती गिलेशनको छ्त ढलान गरिएको थियो ।
उपभोक्त समितिका अध्यक्ष मिश्रीलाल मेहताले पहिले प्रयोग गरेको सामाग्रीमा स्थानीयले बिरोध जनाएपछि अर्को निर्माण सामाग्री ल्याएर छत ढलान गरिएको बताए ।
यसबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसंग पटकपटक प्रयास गर्दा समेत सम्पर्क हुन सकेन ।