• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

असारदेखि नै बाढीको बितण्डा सुरु भएको छ । चीन तर्फबाट भोटे कोसीमा सोमबार राती आएको बाढीका कारण रसुवा जिल्लामा व्यापक क्षति भएको छ । बाढीमा १८ जना बेपत्ता भएका छन् जसमा ८ जना चिनियाँ नागरिक समेत रहेको समाचार आएको छ । बाढीले रसुवागढी हाईड्रो पावर,भन्सार सहितका स्थानमा क्षति पुगेको छ ।
वर्षा सुरु हुनासाथ व्यापक क्षति हुन थालेका कारण आगामी दिनमा अझै बर्षा हुने भएका कारण त्यसबाट कसरी सुरक्षित रहने भन्नेमा अहिलेदेखि नै चिन्तनका साथ सुरक्षाका उपाय बारेको तयारी थाल्न आवश्यक भएको छ । सप्तरी पनि बाढीले बढी क्षति पुर्याउने गरेको जिल्ला मध्येकै एक हो । हरेक वर्ष यहाँ बाढीले व्यापक क्षति गर्दै आएका कारण पहिलेदेखि सुरक्षाका बारेमा तयारी थाल्न आवश्यक भएको हो । बाढीको बारेमा सूचना,उध्दार तथा राहतका बारेमा तयारी गर्न सक्दा मात्रै क्षति न्यूनीकरणमा पनि सघाउ पुग्ने भएका कारण यसकालागि विशेषतः पालिकाहरुले चासो राख्नु पर्ने समय आएको हो । ठूलो प्राकृतिक प्रकोपकै रुपमा बाढी पनि पर्ने भएका कारण यसबाट जनधनको सुरक्षाकालागि विशेष कार्यक्रम तथा बजेटको व्यवस्था गरेर यो चुनौति सामनाको तयारी थाल्ने समय बेला आईसकेको छ । कोसी, खाँडो, जिता, बलान, महुली,सुन्दरी, त्रियुगा लगायतका नदीको बाढीले जिल्लामा क्षति पुर्याउँदै आएको छ । तिनको जोखिम यसपालि पनि नरहेको होईन ।
यी नदीको बाढीले मच्चाउन सक्ने बितण्डा प्रति पहिलेदेखिको सजगता र तयारी भएमा यसले क्षतिमा कमी ल्याउन तथा जनधनको सुरक्षामा सफलता मिल्ने अपेक्षा राख्न सकिन्छ ।