नेपाल चिकित्सक संघको आह्वानमा सोमबार मुलुकभर इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द भए । यसले गर्दा विरामीले निकै सास्ती खेप्नु परेको छ ।
विभिन्न अस्पतालमा उपचारका लागि पुगेका विरामीले डाक्टरको मुखसम्म देख्न पाएनन्, उपचार कसरी पाउनु? उपभोक्ता अदालतले तीन वटा अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेपछि संघले त्यसकाविरुद्ध सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेक अन्य सम्पूर्ण सेवा ठप्प पारेको छ । आन्दोलनका क्रममा मंगलबार चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलबाट लिएको प्रमाणपत्र काउन्सिलमै लगेर बुझाउने कार्यक्रम छ । विरामीको उपचारमा खट्ने देशभरिका चिकित्सकहरु यसरी आन्दोलनमा उत्रेको एक दिनमै धेरै विरामीले हण्डर सास्ती भोग्नु प¥यो । तसर्थ यस्तो सम्वेदनशील विषयमा सरकारले विशेष चासो लिनुपर्ने समय आएको छ । आन्दोलनरत चिकित्सकहरुको माग पूरा गरेर वा अन्य विकल्पको प्रयोग गरेर भएपनि उपचार सेवालाई सुचारु गर्ने तर्फ ध्यान पु¥याउनुको विकल्प रहन्न । विरामीको उपचार सेवा प्रभावित हुने अवस्था आउँदा पनि सरकारले चासो नलिने हो भने भविष्यमा दुःखद् तथा अप्रिय घटना पनि घट्न सक्छ भन्ने तर्फ पनि बेलैमा सोच्नु पर्ने हुन्छ । विरामीले उपचारै नपाउने अवस्था आउँछ भने यसलाई मानवीय सम्वेदनकै रुपमा लिनुपर्ने हुन्छ ।
तसर्थ यस्तो सम्वेदनशीलता प्रति चिकित्सकहरुले पनि सोचि दिनु उत्तम हुनेछ । देशभरि नै उपचार सेवा ठप्प हुनुलाई गम्भीरताका साथ लिनै पर्ने हुन्छ ।